३० प्रतिशत भूकम्प प्रभावितले मात्र पाए तेस्रो किस्ता



बुद्ध नेपाली, सिन्धुली
भूकम्प गएको ४२ महिना बितिसक्दा सिन्धुलीका करिब ३० प्रतिशत भूकम्प प्रभावितले मात्र आवास अनुदानको पुरै किस्ता लिएका छन्। अनुदान रकम लिएर निजी आवास निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ११ हजार २१८ रहेको छ।

उनीहरु सबैले सरकारले दिने अनुदानको तीनवटै किस्ता बुझिसकेका हुन्। कुल ३९ हजार ८४१ लाभग्राहीमध्ये ११ हजार २१८ लाभग्राहीले सरकारको मापदण्डअनुसार घर पुनर्निर्माण गरी पूरा रकम लिइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ सिन्धुलीले जनाएको छ।

पीडितमध्ये ३३ हजार १ सय जनाले पहिलो किस्ता लिएका थिए। २४ हजार ८ सय २४ जनाले दोस्रो किस्ता बापतको अनुदान रकम लिएका जिल्ला आयोजना कार्यान्वयन इकाइका अमरबहादुर भुजेलले जानकारी दिए। पहिलो चरणमा ३४ हजार २ सय ७९ लाभग्राही अनुदान सूचीमा परेका थिए।

लाभग्राही सूचीमा छुटेपछि २८ हजार ६ सय २६ जना भूकम्प प्रभावितले गुनासो दर्ता गरेका थिए। त्यसमध्ये पाँच हजार ५ सय ७२ जनाको गुनासो फस्र्योट भई लाभग्राही सूचीमा समावेश भएका भुजेलले बताए। गुनासोबाट ५ हजार ५ सय ७२ र पहिलेका ३४ हजार २ सय ७९ लाभग्राही गरी कुल ३९ हजार ८ सय ४१ लाभग्राहीले अनुदान रकम पाउने भएका छन्।

जिल्लामा निजी आवास पुनर्निर्माणले वर्षायाम यता तीव्रता पाए पनि धान काट्ने तथा थन्काउने सिजन सुरु भएकाले पुनर्निर्माण सुस्त भएको छ। सडक, पानी, दक्ष जनशक्ति पर्याप्त नहुनु, निर्माण सामग्रीको महँगी, भूकम्प प्रभावितको ऐलानी जग्गा हुनु जस्ता समस्याले पनि निजी आवास पुनर्निर्माणले तिव्रता लिन सकेको छैन।

स्थानीय तहको वडा कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, बैंक, कोष तथा लेखा नियन्त्रक कार्यालयजस्ता धेरै कार्यालयमा भूकम्प प्रभावितको फाइल र्पुयाउनुपर्ने झन्झटिलो प्रक्रियाले पनि निजी आवास पुनर्निर्माणले गति लिन नसकेको भुजेलको भनाइ छ। धेरै कार्यालयमा व्यक्तिगत विवरण पुग्ने र कुनै एउटा कार्यालयमा गल्ती हँुदा समस्या आउने गरेको भुजेलले बताए।

 

प्रतिक्रिया दिनुहोस्