किन्डरगार्डेनमा बालबालिकामाथि छुरा प्रहार



बेइजिङ, (एजेन्सी)
दक्षिण पश्चिमी चीनको चोङकिङ किन्डरगार्डेनमा शुक्रबार भएको छुरा आक्रमणमा कम्तिमा चौंधजना बालबालिका घाइते भएको सरकारी समाचार निकाय सिन्वाले जनाएको छ।

प्रहरीका अनुसार ३९ वर्षीया एक अज्ञात महिलाले शुक्रबार बिहान बनान जिल्लाको एक विद्यालयमा प्रवेश गरी चउरमा खेलिरहेका बालबालिकालाई छुरा प्रहार गरेकी थिइन्।

उनको आक्रमणको उद्देश्य स्पष्ट भइसकेको छैन। तर चिनियाँ सामाजिक सञ्जालका अनुसार ती महिलाको सरकारप्रति ठूलो आक्रोश रहेको बुझिएको छ। लिउ थरकी ती महिलालाई तत्कालै प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ। सामाजिक सञ्जाल वेइवोमा राखिएको भिडियोहरूमा घाइते बालबालिकालाई उपचारका लागि विद्यालयबाहिर लगिँदै गरेको देखिन्छ।

तीमध्ये केही बालबालिको अनुहारमा चोट लागेको देखिन्छ। अर्को फुटेजमा ती आक्रमणकारीलाई प्रहरीले समातेर लगेको देखिन्छ। यस घटनामा दुईजना बालबालिका मरेको भन्ने सञ्चार माध्यमको प्रतिवेदन अस्वीकार गर्दै प्रहरीले अनावश्यक हल्ला नफिँजाउन आग्रह गरेको छ। चीनमा हिंसात्मक घटनाहरू विरलै घट्ने गरेका छन्। तर केही वर्षयता विद्यालय र किन्डरगार्डेनहरूमा श्रृंखलाबद्ध रूपमा बालबालिकामाथि छुरा प्रहार हुने घटनामा वृद्धि भइरहेको छ।

प्रायशः यस्तो आक्रमण मानसिक सन्तुलन गुमाएका वा बदला लिने उद्देश्य भएका व्यक्तिहरूले गर्ने गरेको अध्ययनले जनाएको छ। गत अप्रिलमा एकजना २८ वर्षीय पुरुषले घर फर्किँदै गरेका बालबालिकाहरूमाथि छुरा प्रहार गर्दा नौ जनाको ज्यान गएको थियो।

प्रहरीसमक्ष बयान दिने क्रममा नाम नखुलाइएका ती व्यक्तिले सानो छँदा आफूलाई विद्यालयमा अनावश्यक यातना दिने गरेको बताएका थिए। उनलाई गत सेप्टेम्बरमा मृत्युदण्ड दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्