‘खासोगीको हत्या निकै नराम्रो षड्यन्त्र’



वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी सरकारविरोधी पत्रकार जमाल खासोगीको हत्या इतिहासकै सबैभन्दा नराम्रो षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्। उनले तीन साताअघि टर्कीको राजधानी इस्तानवुलस्थित साउदी नियोगमा भएको यस हत्याकाण्डमा संलग्न व्यक्ति अब ठूलो समस्यामा पर्ने चेतावनी पनि दिएका छन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी चर्चित अखबार वासिङटन पोस्टका स्तम्भकार रहेका खासोगीको हत्यामा संलग्न रहेको आशंकामा २१ जना व्यक्तिको सजायस्वरूप भिसा रद्द गरिएको बताएको केही समयपछि नै ट्रम्पले यो प्रतिक्रिया दिएका हुन्। साउदी सरकारले यस हत्याका लागि निच एजेन्टहरूलाई दोष दिएका थिए, तर तुर्केली राष्ट्रपति तायिप रिसिप एर्दोगानले भने साउदी गुप्तचर अधिकारी र अन्य अधिकारीले नियोजितरूपमा खासोगीको ‘राजनीतिक हत्या’ गरेको आरोप लगाएका छन्।

मंगलबार अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भनेका छन– ‘यस हत्याकाण्डलाई तिनीहरूले नराम्ररी ढाकछोप गर्न खोजेका छन्। यो हत्याको षड्यन्त्र रच्ने जोसुकैले पनि ठूलो दुःख पाउने छ।’ साउदी सरकारले खासोगी बेपत्ता भएको सम्बन्धमा विवादास्पद प्रतिक्रिया दिँदै आएको थियो। लामो समयसम्म खासोगी जीवितै रहेको दाबी गर्दै आएको साउदीले गत शुक्रबार मात्र ५९ वर्षीय उनको टर्कीस्थित साउदी नियोगमा हत्या भएको पुष्टि गरेको थियो। हुर्रियात डेली न्युज वेबसाइटले इस्तानवुलको एक कार पार्किङमा रहेको साउदी पनयोगको एउटा कारमा लुगा भरिएका २ वटा संदिग्ध सुटकेस फेला परेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्