कोरियाली युद्ध समाप्तीका लागि मुनको पहल



सोल, (एजेन्सी)
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरियाली प्रायद्विपमा आपसी युद्ध समाप्त भएको घोषणा अमेरिका र उत्तर कोरियाले कुनै पनि समय गर्न सक्ने विचार बीबीसीसमक्ष व्यक्त गरेका छन्। सन् १०५३ मा बिनाकुनै शान्ति सम्झौता युद्ध विरामले नै कोरियाली युद्ध टुंगिएकाले कोरियाली युद्ध प्राविधिकरूपमा अझै पनि जारी रहेको मानिन्छ।

उत्तर कोरियाली शरणार्थी दम्पतीकै पुत्र रहेका मुनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई उनको आणविक हातहतियार कार्यक्रम त्याग्न आग्रह गर्दा अझै थुप्रै कूटनीतिक आरोह–अवरोह आउन सक्ने पनि बताएका छन्। तर, मुनले किम विश्वास गर्न लायक व्यक्ति भएको बताएका छन्।

दक्षिण कोरियाको राजधानी सोलमा बीबीसीका महिला पत्रकार लाउरा बिकरलाई अन्तर्वार्ता दिने क्रममा मुनले किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको रोकिएको वार्ता पुनः सुचारु गर्न मध्यस्थताका लागि आफूले युरोपेली संघका नेताहरूले पनि सहयोग गर्ने आशा राखेको बताएका छन्।

यसै वर्ष मात्र किमसँग तीनपटक प्रत्यक्ष भेटवार्ता गरेका मुनले किम र ट्रम्पबीचको सिंगापुरमा जुलाई १२ मा भएको ऐतिहासिक वार्ताका लागि मध्यस्थकर्ताको भूमिका निभाएका थिए। यसै गरी मुनले कोरियाली युद्ध समाप्त भएको घोषणा गर्ने सम्बन्धमा राष्ट्रपति ट्रम्प र अमेरिकी अधिकारीहरूबीच प्रशस्त छलफल गरेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्