हाउडे माया सिर्जना



रश्मी थापा
हाउडेमाया गायिका सिर्जना खत्री यतिबेला नेपाली पप आधुनिक संगीतमा रुचाइएको नाम बनेको छ। विशेष गरी स्टेजमा बिन्दास पारामा गीत गाएर प्रस्तुत हुने उनी आफ्नो फरक शैलीको गीत र प्रस्तुतिकरणकै कारण दर्शकको नजर र आयोजको मागमा पर्छिन्।

लोकपप गीतमा फरक शैली प्रयोग गरेर बनाइएका उनका गीतका फ्यानहरू पछिल्लो समय बढीरहेका छन्। हाउडे माया बोलको गीतले चलेपछि हाउडे मायाकै रूपमा पहिचान बनाएकी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका धुस्कुनकी सिर्जना पछिल्लो समय स्टेज तताउने गायिकाअन्तर्गत पर्छिन्। केबल ३ वर्षअघि मात्र गायनमा आएकी उनी छोटो समयमै नाम कमाउने गायिका बन्न पुगेकी छिन्।

‘स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिइहाल्थें। गीतहरू पनि पहिलेदेखि नै लेख्थें, कार्यक्रममा नाच्ने पनि गर्थें। त्यसकारण स्कुलमा केही कार्यक्रम हुन लाग्यो भने गीत लेख्ने र संयोजन गर्ने जिम्मा मलाई नै आउँथ्यो।’ एसएलसीपश्चात गायनमा लाग्ने सोचले काठमाडौं अँएकी उनी आफ्नो बाल्यकाल सम्झँदै भन्छिन्– ‘स्कुल पढ्दै गर्दा मेरो दाइ नवराज खत्रीले लोकगीत निकाल्नुभएको थियो। उक्त गीत क्यासेटमा सुनेपछि भने मलाई पनि गायिका हुन पाए हुन्थ्यो भन्ने भित्री रहर जागेको थियो। बुबाआमा र दाइहरूले गाउँमै बसेर पढाइ र जागीर गर्न भन्नुहुन्थ्यो। तर मलाई भित्रैदेखि गायनमा रुचि भएको कारणले काठमाडौंमै पढ्छु भनेर एसएलसीपछि काठमाडौं आएँ।’

काठमाडौं अँएपछि कलेज अध्ययनका साथै हिमालय टेलिभिजनमा पाठशाला नामक कार्यक्रममा सञ्चालिकाको रूपमा काम गरेपछि संगीत सिक्न थालेकी सिर्जनाले संगीत सिक्दाको अनुभव सुनाइन्– ‘संगीतकार राजकुमार बगर दाइलाई मैले फेसबुकमार्फत कुरा गरेर संगीतमा रुचि भएको बताएकी थिएँ। उहाँले त्यसो भए भोकल टेस्ट गरौं न त भन्नुभयो र उहाँको स्टुडियो गएर एउटा लोकगीत सुनाएँ। उहाँले स्वर राम्रो छ संगीत सिके हुन्छ भन्ने सल्लाह दिनुभयो।

शुरूमा श्रुती संगीत विद्यालयमा सिकें भने त्यसपछि गुरुदेव कामत, नरहरी प्रेमीजस्ता गुरुहरूसँग संगीत सिकें। संगीत सिकेको लामो समयपछि मात्र गीत रेकर्ड गराएँ। बजारमा आएको पहिलो गीत हाउडे मायाबाट नै मैले सिर्जना खत्री भनेर चिनिन पाएँ। यसरी हेर्दा आफूले गरेको मेहनतको फल पाइरहेको छु भन्ने महसुुस भएको छ। शुरूमा गीतसंगीतमा लागेको कुरा घर परिवारलाई मन नपरे पनि आफ्ना गीतहरू बजारमा आइसकेपछि घरपरिवारबाट राम्रो सपोर्ट पाइरहेकी छु।’

हालै मात्र सिर्जनाले नौटंकी माया बोलको नयाँ गीतकोे म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। गीतमा शब्द तथा संगीत उनकै रहेको छ भने उनलाई मिस्टर आर्जेले गायनमा साथ दिएका छन्। प्रायः आफ्ना गीतमा आफैं शब्द लेख्ने र संगीत कम्पोज गर्ने तथा म्युजिक भिडियोमा आफैं पनि मोडलिङ गर्ने उनका यसभन्दा अघिका हाउडे माया, शिरमा सिन्दुर, लाहुरे मायामा उनकै शब्द तथा संगीत रहेको छ भने मिठो बोली बोलको गीतमा मनोजराज सिवाकोटीको संगीत र उनको शब्द रहेको छ।
‘अहिले गीतको भिडियो बनाउँदा कम्तिमा पनि एक डेढ लाखभन्दा बढी नै पर्छ। मैले अहिलेसम्म गीतको भिडियोमा कम्प्रोमाइज गरेको छैन। सकेसम्म क्वालिटीको भिडियो बनाइरहेकी छु। पहिलो गीतको भिडियो निर्माण गर्दा त फाइनान्सबाट ऋण नै लिएको थिएँ। पछिल्लो समय भने स्टेज कार्यक्रम तथा विदेशका विभिन्न कार्यक्रममा गइरहेकी छु। जसले गर्दा केही सजिलो भएको छ। अहिले आफ्नो युट्युब च्यानलबाट नै भिडियो रिलिज गरिरहेकी छु। यसबाट पनि केही कमाइ हुन्छ। केही अघिसम्म त संगीतमा आफ्नो भविष्य कस्तो होला भन्ने कुराले डर पनि लाग्थ्यो’ –उनी भन्छिन्। सृजना सांगीतिक प्रस्तुतिको लागि मलेसिया सिंगापुर, दुबई, जापानजस्ता देश पुगेकी छिन्।

‘शुरूदेखि नै मैले आफ्ना गीतमा सकरात्मक प्रतिक्रिया पाउँदै आइरहेकी थिएँ। पछिल्लो समय निस्केको गीत नौटंकी मायालाई पनि दर्शकले माया गरिरहनुभएको छ। गीतलाई लिएर राम्रो प्रतिक्रिया आइरहेको छ। मेरा गीतहरू नाच्न मिल्ने र सकरात्मक सन्देश बोकेका हुन्छन्’, सिर्जना भन्छिन्– ‘नाच्न मिल्ने गीत भएकाले यी गीतहरू स्टेजमा निकै रुचाइन्छन्। करिअरको शुरूमा त स्टेज चढ्दाखेरी कामिन्थ्यो पनि, डर लाग्थ्यो। तर अहिले कन्फिडेन्ट बढ्दै गएपछि त स्टेजमा चढेपछि छुट्टै इनर्जी आउँछ।

मेरो काम यही हो भन्ने हुन्छ र सकभर राम्रँे पर्फमेन्स दिने कोशिस गर्छु।’ सिर्जना स्टेजमा गीत गाउन उक्लिएपछि उनको पहिरनदेखि प्रस्तुतिका कारण दर्शक आकर्षित हुन्छन्, हुटिङ पनि गर्छन्। ‘स्टेजमा गीत गाउँदा मैले लगाउने कपडा र प्रस्तुति शैलीलाई लिएर नेगेटिभ कमेन्ट पनि आए।

तर म नर्मल र सिम्पल छु। मेरो प्रस्तुति भड्किलो हुँदैन, प्रस्तुति दिने भनेको कार्यक्रमको माहोलअनुसार हो। कुनै ठाउँमा साडी चोली लाएर पनि गीत गाएकी छु भने कुनै ठाउँमा त्यहाँको माहोल हेरेर ड्रेसअप गर्छुु’, सिर्जनाको भनाइ छ– ‘मेरो विचारमा ठाउँ र माहोलअनुसार डे«सअप गर्दा ठीक हुन्छ जस्तो लाग्छ।’ सिर्जना जस्तोसुकै व्यस्तताका बीच पनि रियाज छोड्दो रहिनछिन्। भन्छिन्– ‘अहिले पनि म्युजिक क्लास लिइरहेकी छु। हरेक दिन बिहान वा बेलुका रियाज गर्छु। फ्री टाइममा गीत लेख्न रुचाउँछु।’

प्रतिक्रिया दिनुहोस्