‘शहीदको सम्मानमा नेपालको पहिलो खेल प्रतियोगिता धर्मश्री’



ब्यायाम कुनै पनि खेलको जग हो । संसारभर जुनसुकै संरचनाको शारारिक परिश्रमको खेलमा ब्यायाम आवश्यक हुन्छ । खेल र ब्यायाम एक अर्काको पर्याय हो । हरेक मान्छेका लागि शरीरको सम्पूर्ण अंगलाई तन्दुरुस्त राख्न ब्यायाम आवश्यक छ । अनि शारीरिक सुगठन खेल सुगठित शरीर जाँच्ने कसी पनि हो । यो यस्तो खेल हो जसमा ब्यायाममार्फत् शरीरको प्रत्येक भागलाई आकर्षक देखाउने गरिन्छ ।

नेपालको शारारिक सुगठन कुरा आउँदा शहिद धर्मभक्त माथेमाको नाम छुटाउन मिल्दैन । उनी नेपालका पहिला शारीरिक सुगठनका खेलाडी हुन् जसले राणाकालिन समयमा शारारिक सुगठन खेलको प्रदर्शनी गरेका थिए । उनले वि सं १९९० को दशकतिर काठमाण्डौको टुंडीखेलमा बलिष्ठ र सुगठित मांसपेंसीयुक्त शरीर प्रदर्शन गरेका थिए । नेपालमै पहिलो पटक त्यसरी सुगठित शरीरको प्रदर्शन गरेका कारण नेपालकै जेठो ब्यायामशाला नेपाल ब्यायाम मन्दिरले धर्मभक्त माथेमाको स्मृतिमा धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

शहीदलाई सम्बोधन गर्ने शहीद स्मारक फुटबल लिग २०११ सालदेखि आयोजना भएको थियो । तर सम्मान स्वरुप शहीदको नामबाट नै नेपालमा खेल प्रतियोगिता आयोजना गर्ने श्रेय भने धर्मश्री शारारिक सुगठन प्रतियोगितालाई जान्छ । वि.सं २०४२ सालबाट थालनी गरिएको धर्मश्री प्रतियोगिता अहिले १५औं संस्करणको संघारमा छ ।

बिभिन्न बाधा अड्चन छिचोलेर भएपनि धर्मश्रीको १५औं संस्करणसम्मको यात्रालाई ठूलो उपलब्धि नै मान्नुपर्ने हुन्छ । शारीरिक सुगठनको क्षेत्रमा नेपाल ब्यायाम मन्दिरले आयोजना गर्दै आएको धर्मश्रीले खेलको विकास र खेलाडीहरुको हौसला तथा मनोबल बढाउने कोशेढुङ्गाको काम गर्दैछ । यसै सिलसिलामा नेपाल समाचारपत्रका खेल संवाददाता कविरस शर्माले धर्मश्री आयोजनाको उपलब्धि र चुनौतीको बारेमा नेपाल ब्यायाम मन्दिरका अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक नारायण प्रधानसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

– कति वर्ष भयो बडी बिल्डिंग क्षेत्रमा लाग्नु भएको ?
२०३८ साल देखि निरन्तर यस क्षेत्रमा छु ।

– नेपाली बडी बिल्डिंगको अवस्थालाई कसरी वर्णन गर्नुहुन्छ ?
नेपालमा बडी बिल्डिंगको अवस्था निक्कै राम्रो छ । स्वस्थ शरीर, स्वस्थ मनस्थिति बनाउने जाँगर सबैलाई चलेको छ । राम्रो समाज निर्माणका लागि पनि बडी बिल्डिंग अपरिहार्य माध्यम हो ।

– २०३८ सालमा नेपाल ब्यायाम मन्दिर प्रवेश गर्दा कस्तो अवस्था थियो ?
त्यतिबेला माटोको भुई भएकाले कसरत गर्दा धूलो उड्थ्यो । ब्यायामशाला भित्रको भुइँलाई सातामा एकपटक माटोले लिप्नु पथ्र्यो । यो काम मैले पनि धेरै पटक गरेको थिएँ । कसरत गर्ने औजारहरु पनि बढी जसो काठबाट निर्मित थिए ।

– धर्मश्रीको १५औं संस्करणसम्म आइपुग्दा कस्तो चुनौतीहरुको सामना गर्नुपरेको छ ?
सोचे भन्दा धेरै चुनौतीहरुको सामना गरेर यहाँसम्म आइपुगेका छौं । सुरुमा १० हजार पुरस्कार रहेको थियो भने अहिले ५ लाख पुरस्कार राखिएको छ । यसबीच थुप्रै उतारचढावको सामना गर्नु परेको छ ।

– प्रतियोगिताको मुख्य उद्देश्य के हो ?
स्वस्थ शरीर, स्वस्थ मनस्थिति र स्वस्थ समाज तयार पारेर स्वस्थ जनशक्तिको निर्माण गर्नु नै नेपाल ब्यायाम मन्दिरको मुख्य उद्देश्य रहँदै आएको छ । सुनमा सुगन्ध भने झैँ राष्ट्रको लागि खेलाडी उत्पादन गर्नु धर्मश्री आयोजनाको मुख्य उद्देश्य हो ।

यहाँबाट उत्पादन भएका खेलाडीहरुमध्ये कयौले अहिले आफ्नै ब्यायामशाला स्थापना गरेर स्वस्थ समाजको अवधारणामा ईंट थप्ने काम पनि गरेका छन् ।

– प्रतियोगिताका लागि सरकारीस्तरबाट के–कस्तो सहयोग पाउनुभएको छ?
प्रसादको रुपमा पाउने सहयोगले के नै गर्नु र । प्रतियोगिताका लागि हाम्रो खर्च ४० लाखको हाराहारीमा छ । तर सरकारबाट त्यसको १ प्रतिशत पनि मुस्किलले पाउने गरेको छ ।

मलाई लाग्छ सरकारको जिम्मेवार निकायमा बस्ने मान्छेहरुले पनि ब्यायामसँग नाता गास्नु पर्छ । जबसम्म स्वस्थ शरीर र स्वस्थ मानसिकता बन्दैन तबसम्म समाजलाई पनि स्वस्थ बनाउन सकिदैन । खेलकूद र खेलाडीको भावनालाई बुझ्ने मान्छेहरुको बहुमत सरकारमा भएमा बडी बिल्डिंग मात्र होईन सम्पूर्ण नेपाली खेल जगतले नै कांचुली फेर्नेछ ।

– शहीद धर्मभक्तको नाममा प्रतियोगिता गर्ने परिकल्पना कसरी आयो ?
यो चाहिं नेपाल ब्यायाम मन्दिरका पूर्व अध्यक्ष सरोजकुमार श्रेष्ठ र पहिलो मिस्टर नेपाल शिवलाल श्रेष्ठले परिकल्पना गर्नु भएको हो । सम्भवत कुनै पनि खेलकूद प्रतियोगिता शहीदको नामबाट आयोजना गरिएको यो नै पहिलो हो ।

जसले तीन दशकदेखि निरन्तरता पाईरहेको छ । राज्यले शहीदको भावनालाई उचित कदर गर्न नसकिरहेको अवस्थामा शहीदको सम्मानमा सम्पूर्ण खेल जगतकै प्रतिनिधित्व गरेर नेपाल ब्यायाम मन्दिरले धर्मश्री आयोजना गर्दै आइरहेको छ ।

– तपाई अध्यक्ष भएयता कति पटक धर्मश्री आयोजना भएको छ ?
म २०५५ सालमा नेपाल ब्यायाम मन्दिरको अध्यक्ष भएयता यो समेत ११औं पटक धर्मश्री आयोजना हुँदैछ । यस अवधिमा धर्मश्रीलाई साथ दिने सम्पूर्णप्रति आभारी पनि छु ।


– धर्मश्री वार्षिक रुपमा आयोजना नहुनु कारण के होला ?
हामी धर्मश्रीलाई वार्षिक रुपमा मात्र होईन यसमा महिला र जुनियर स्पर्धा समेत समावेश गर्ने योजनामा छौं । तर हामीले नियमित प्रायोजक नै नपाएपछि दुइ वर्षको अन्तरालमा बडो मुस्किल एक पटक भएपनि आयोजना गर्दै आइरहेका छौं ।

यसपटक त हामी प्रायोजक खोज्दा खोज्दा थकित नै भएका छौं । तर पनि हामीले हिम्मत हारेका छैनौँ । हामी चाडै नै यसलाई वार्षिक रुपमा आयोजना गर्ने खाका तयार पार्छौ । आगामी धर्मश्रीलाई परिमार्जित गर्नका लागि कोष खडा गरी सहयोगका लागि आव्हान गर्ने समेत सोच बनाएका छौं ।

– नियमित प्रायोजनका लागि के कस्तो प्रयास गर्नु भएको छ ?
धेरै गरियो । नगएको शायद ठाउँ नै छैन होला । नभनेको कसैलाई छैन होला । अहिले त पुराना प्रायोजकहरुले फोन समेत रिसिभ गर्न छोडिसके ।

– यसपटक प्रायोजक बिना नै आयोजना गर्न लाग्नु भएको हो ?
प्रायोजक नै नपाएको होइन । तर सोचे जस्तो मुख्य प्रायोजक भने हामीले पाउन सकेनौं ।


– १५औं संस्करणसम्म आइपुग्दा महिला स्पर्धा नगर्नुको कारण ?
प्रतियोगिताको समय लम्बिने भएकोले तत्कालको लागि समावेश नगरिएको हो । वास्तवमा महिला बडी बिल्डिंग स्पर्धाको सुरुवात नै धर्मश्रीबाट भएको हो । प्रसिद्धिका रायमाझी महिला बडी बिल्डिंग प्रतियोगितामा स्टेजमा उत्रने पहिलो नेपाली महिला बडी बिल्डर हुन् । १०औं धर्मश्रीमा प्रदर्शनी स्पर्धाका रुपमा हामीले प्रसिद्धिका रायमाझीलाई स्टेजमा उतारेका थियौं ।

त्यसपछाडी अन्य प्रतियोगितामार्फत् नेपाल ब्यायाम मन्दिरले विधा राई, निर्मला महर्जन, रजनी श्रेष्ठ लगायत मेरो आफ्नो छोरी लुना प्रधान जो यति एअरलाइन्सका क्याप्टेन समेत हुन्, उनीहरुबाट पदक भित्र्याइसकेका छन् । त्यसैले धर्मश्रीको आगामी संस्करणमा महिला स्पर्धा समावेश गर्नेतर्फ हामी सकारात्मक छौं ।

– धर्मश्री र अन्य बडी बिल्डिंग प्रतियोगितामा के भिन्नता छ ?
धर्मश्री र अन्य प्रतियोगितामा धेरै अन्तर छ । बडी बिल्डिंगको विकासमा नेपाल ब्यायाम मन्दिर र धर्मश्रीको योगदान अतुलनीय छ । बडी बिल्डिंग प्रतियोगिताको अगुवा नै नेपाल ब्यायाम मन्दिर र धर्मश्री हो ।

अहिले सर्वाधिक पुरस्कार राशिको बडी बिल्डिंग प्रतियोगिता पनि धर्मश्री नै हो । क्रमिक रुपमा पुरस्कार राशि बढाउँदै लैजाने योजनामा पनि हामी छौं ।
– धर्मश्री जितेकाहरुले अन्तराष्ट्रीय प्रतियोगितामा के कस्तो सफलता पाएको छ ?
श्याम श्रेष्ठ जो नेपालबाट पहिलो पटक वल्र्ड बडी बिल्डिंग प्रतियोगितामा भाग लिएर दोस्रो स्थान हासिल गरेका थिए । यस्तै अन्य केहि खेलाड़ीहरुले पनि विश्वस्तरदेखि एसियालीस्तरसम्मको प्रतियोगितामार्फत पदक भित्र्याइसकेका छन् ।

– धर्मश्रीलाई अन्तराष्ट्रीय प्रतियोगिताको रुपमा आयोजना गर्न के गर्नु पर्ला?
हामीले यो बारेमा पनि सोचेका छौं । सरकारको सहयोग र प्रायोजकहरुले साथ दिएको खण्डमा अवश्य पनि हामीले धर्मश्रीलाई अन्तराष्ट्रीय प्रतियोगिताको रुपमा आयोजना गर्नेछौ ।

प्रतिक्रिया दिनुहोस्