रहेनन् निर्देशक विरही



फिल्म निर्देशक, निर्माता, लेखक, गीतकार तथा साहित्यकार गगन श्रेष्ठ (विरही) को आइतबार ६१ वर्षको उमेरमा निधन भएको छ। अचानक स्वास्थ्यमा समस्या आएपछि गत २० गते नर्भिक अस्पतालमा भर्ना गरिएका उनको आइतबार ४ बजे निधन भएको घोषणा गरिएको थियो। २ वर्षअघि कलेजोमा समस्या भएपछि स्वास्थ्य उपचारपश्चात् सामान्य भई घर फर्केका उनलाई अचानक रुघाखोकी लागेकाले अस्पताल पुर्याइएको थियो। स्वास्थ्य उपचारका क्रममा निमोनिया भएको र मृगौलामा समेत असर परेको पाइएको थियो। उनलाई एक सातादेखि भेन्टिलेटरमा राखिएको थियो। १५ वर्षसम्म अमेरिका बसेर फर्केका उनको पत्नी, एक छोरा र एक छोरी छन्। उनका छोरा अस्ट्रेलियामा छन् भने शनिबार छोरी अमेरिकाबाट फर्केकी थिइन्।

गीत लेखन र साहित्य सिर्जनामा समेत सक्रिय विरहीलाई भेन्टिलेटरबाट निकाल्नुअघि आइतबार नै उनीद्वारा लिखित हस्ताक्षर नामक पाँचौं कविता, गीत र मुक्तक संग्रह विमोचन भएको छ। उक्त संग्रह कवि तुलसी दिवस, शैलेन्द्र साकार, गीतकार दिनेश अधिकारी तथा कलाकारहरू कृष्ण मल्ल, रामकेशर बोगटी, पुरन जोशीलगायतले अस्पतालमा नै विमोचन गरेका हुन्। ‘उहाँको अन्तिम इच्छा यो संग्रह विमोचन गर्ने थियो। त्यस कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर भएको अवस्थामा हामीले अस्पतालमा नै विमोचन गर्यौं। त्यसपछि उहाँलाई डाक्टरहरूले निधन भएको घोषणा गरेर भेन्टिलेटरबाट निकाले।’ –अभिनेता कृष्ण मल्लले नेपाल समाचारपत्रसँग भने। उनको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

विरही फिल्म निर्देशक र निर्माताभन्दा पहिले नाम चलेका कुशल कवि तथा गीतकार हुन्। उनले फिल्म संकल्पमा संयोजकका रूपमा काम गरेका थिए भने बादलको प्रस्तुतकर्ता थिए। त्यसपश्चात् झ–झल्को, मितेरी गाउँ, शिखर र घर–आँगन गरी ४ फिल्म निर्माण तथा निर्देशन गरेका थिए। उनले दर्जनौं फिल्मी र आधुनिक गीतसमेत रचना गरेका थिए। उनको झ–झल्को नामक फिल्ममा रहेको शनिबारको दिन बिहानी पख देखें एउटा सुन्दरीलाई बोलको गीत सुपर डुपर हिट छ। यसबाहेक पनि
उनीद्वारा रचित थुप्रै गीत चलेका छन्।

प्रतिक्रिया दिनुहोस्