मालिकामा रेखा लेडी हिरो, जाजरकोटकी कमला साहसी



नायिका रेखा थापाद्वारा निर्मित, अभिनित र निर्देशित फिल्म मालिकाको शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।

आगामी कात्तिक १६ गते अल नेपाल रिलिज हुने फिल्मको ट्रेलर सामाजिक रूपान्तरण र मुलुकको समसामयिक चासोको विषयमा केन्द्रित छ। ट्रेलरमा नायिका थापा अघिल्ला फिल्ममा जस्तै लेडी हिरोका रूपमा प्रस्तुत भएकी छिन्। उनका साथमा जाजरकोटकी कमला ओली साहसी नारीका रूपमा ट्रेलरमा देखिन्छिन्। एक्सन र संवादलाई प्रचुर मात्रामा देखाइएको ट्रेलरमा नारीप्रधानता भेटिन्छ। ‘डरको आँखामा यसरी आँखा जुधाएर हेर, ताकी डर पनि तिमीसँग डराओस्’ –नायिका थापाका संवादले यथेष्ट स्थान पाएको ट्रेलरको संवादमा उनी भन्छिन्।

नायिका थापाको होम प्रोडक्सन रेखा फिल्मस्को ब्यानरमा सरस्वती थापाको निर्माण तथा नरबहादुर कार्की कार्यकारी निर्माता रहेको फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा रेखाले मालिका समाज परिवर्तनका लागि एउटा अभियान हुने दाबी गरिन्। ‘मलाई निर्मला पन्तको याद आउँछ। यो फिल्म २÷३ महिनाअगाडि आएको भए निर्मलाले हेर्थी होला र डिफेन्स गर्न सक्थी होला’, नायिका थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको प्रसंग जोड्दै भनिन्– ‘मालिकामा बलात्कार, बालविवाह र महिला हिंसाको विषय छ। यो फिल्म समाज परिवर्तनका लागि एउटा अभियान हो। यो फिल्मले जो कोहीलाई बहादुर बनाउन सिकाउँछ।’

फिल्ममा कथा र परिकल्पना रेखा थापा, संवाद नरबहादुर कार्की, लेखन शिवम अधिकारी, गीत नर कार्की र सुरेश अधिकारी, संगीत सुरेश अधिकारी, कोरियोग्राफी रामजी लामिछाने, द्वन्द्व श्री श्रेष्ठ, छायांकन रामशरण उप्रेती तथा सम्पादन वनीष शाह र मिलन श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्