विरही सिकिस्त



फिल्म निर्माता, निर्देशक, लेखक तथा गीतकार गगन विरही सिकिस्त भएका छन्। २ वर्षअघि कलेजोको समस्या बेहोरेका उनलाई अचानक रुघाखोकी लागी ज्वरोले गालेपछि गत शनिबार नर्भिक अस्पतालको अति सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनलाई फेरि निमोनिया भएको र मृगौलामा समेत असर परेको उनकी पत्नी कल्याणी श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी गराइन्। उनलाई औषधीले समेत काम गर्न छोडेको छ। उनको छोरा अस्ट्रेलिया र छोरी अमेरिकामा छन्। कल्याणीले छोरीको प्रतीक्षा गरिरहेको बताइन्। छोरी शनिबार नेपाल आउँदै छिन्।

६१ वर्षीय विरही गीत लेखन, साहित्य सिर्जनादेखि फिल्म लेखन, निर्माण र निर्देशनसम्म सक्रिय थिए। विरही फिल्म निर्माता तथा निर्देशकभन्दा पहिला नाम चलेका कवि तथा गीतकार हुन्। कविता र गीतले बनेका विरही नेपाल टेलिभिजनको पूर्वसमाचारवाचकसमेत हुन्। विरहीले झ–झल्को, मितेरी गाउँ, शिखर र घर–आँगनजस्ता फिल्मको निर्देशन गरेका छन् भने बादल नामक फिल्मको प्रस्तुतकर्ता रहेका थिए। मितेरी गाउँ, शिखर र घर–आँगन उनी आफैंले निर्माण गरेका थिए भने कतिपय फिल्ममा लेखन कार्य पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्