थिबाउट बने फिफा वेस्ट गोलकीपर २०१८



कविरस शर्मा
फुटबलमा गोलरक्षक हुनु सायद सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारी हो । खेल अवधिभर जति नै बचाउ गरेपनि एउटै गल्तीले पुरै टोलीको नतीजामा उतारचढाव आउँछ । नायक बन्न थुप्रै पटक बचाउनु पर्छ भने खलनायकमा रूपान्तरित हुन एउटै गल्ती पर्याप्त हुन्छ । सधैं यस्तै भूमिकामा हुन्छ फुटबलको गोलरक्षक ।

फुटबलको मैदानमा जति नै राम्रो काम गरेपनि गोलरक्षकहरुले आफुले पाउनु पर्ने भन्दा थोरै मात्र जस पाउने गरेको थुप्रै उदाहरणहरु छन् । गोलरक्षकको जिम्मेवारी निभाउन देखे जति सहज हुदैन । हेर्दा हात र खुट्टा दुवै प्रयोग गर्न छुट भएपनि हात र खुट्टालाई नै सही तालमेलका साथ चलाउन र आवश्यकता अनुसार डाइभिंग गर्न निक्कै चुनौतीपूर्ण कार्य हो । जसलाई कुशलताका साथ निभाउन गोरक्षकका लागि धेरै मेहेनत र साधनाको आवश्यकता पर्दछ । अनि यस्तो चुनौतीपूर्ण भूमिका निभाएर यसपटक अब्बल ठहरिएका छन् गोलरक्षक थिबाउट कोर्टूवा ।

गत सोमबार राति लन्डनमा आयोजित फिफा वेस्ट अवार्डमा बर्ष २०१८ को उत्कृष्ट गोलरक्षकको अवार्ड बेल्जियम राष्ट्रीय टोलीका गोलरक्षक थिबाउट कोर्टूवाले प्राप्त गरे । फिफाको ‘द बेस्ट’ अवार्ड समारोहमा रियल मेड्रिडबाट खेल्ने बेल्जियन गोलरक्षक थिअबाउट कोर्टूवाले उत्कृष्ट गोलरक्षकको उपाधि जित्न सफल भएका हुन् । उनले बेल्जियम राष्ट्रिय टोलीलाई विश्वकप सेमिफाइनलसम्म पु¥याएका थिए ।

थिबाउटले उपाधि जित्ने क्रममा फ्रान्स तथा टोटेनह्याम हट्सपरका कप्तान ह्युगो लोरिस र लेस्टर सिटीका गोलरक्षक कास्पर स्माइकललाई पछाडी पारेका थिए । लोरिसले फ्रान्सलाई विश्वकप उपाधि दिलाउँदा महत्वपूर्ण भूमिका खेलेर फिफा विश्वकप आफ्नो राष्ट्रलाई दिलाए पनि फिफा बेस्टको अवार्डमा भने कोर्टूवालाई उछिन्न सेकेनन् । कोर्टूवाले एथ्लेटिको मेड्रिड र चेल्सीबाट लिग उपाधि पनि जितिसकेका छन् । बेल्जियमको राष्ट्रिय टोलीमा नियमित सदस्य रहेका उनले यसअघि प्रिमियर लिगमा पनि उत्कृष्ट ११ मा स्थान बनाएका थिए ।

पछिल्लो समय अत्यधिक चर्चामा रहेका गोलरक्षक हुन् कोर्टुआ । गत जुलाईमा रुसमा सम्पन्न फिफा विश्वकप फुटबलमा गोल्डेन ग्लोभ्स प्राप्त गरेपछि उनको चर्चा चुलिएको थियो । त्यसको केहि सातापछि नै उनी चेल्सी छाडेर ३५ मिलियन युरोमा रियल मेड्रिड पुगे । त्यसयता भएका पत्रकार सम्मेलनमा उनले लगातार चेल्सीको आलोचना समेत गर्दै आएका छन् । यी सबै कुराका बावजुद पनि उनको गोलरक्षण क्षमतामा कसैले प्रश्न उठाउन सकेका छैनन् । आफ्नो गोलपोष्ट वरिपरि आएको बललाई नियन्त्रणमा लिन उनि पोख्त छन् । विश्व फुटबलको वर्तमान समयमा विपक्षीको क्रसलाई आफ्नो नियन्त्रणमा लिने अद्भुत खुबी भएका उनी कमै मध्येका एक गोलरक्षक हुन् ।

२६ वर्षीय कोर्टूवाले सन २००९ देखि सिनियर करियरमा पाइला अघि सारेका हुन् । बेल्जियमको जेन्क क्लबबाट सन् २००९ देखि ब्यवसायिक फुटबलको थालनी गरेका उनले त्यहां ४१ म्याच खेलेका थिए । सन् २०११ सम्म जेन्कमैं बिताउने क्रममा उनी ’बेल्जियन प्रोफेस्नल गोलकिपर अफ द ईयर’ घोषित भएका थिए । उनी सन् २०११ मा भने इंग्लिश प्रिमियर क्लब चेल्सीमा आबद्ध भएका थिए ।

तर चेल्सीले उनलाई लोनमा स्पेनिस क्लब एथ्लेटिको मेड्रिडमा पठाएको थियो । जहाँ उनले १ सय ११ म्याच खेलेका थिए । एथ्लेटिकोमा खेल्ने क्रममा उनको टोलीले स्पेनिस ला लिगाको उपाधिका साथै कोपा डेल रे, यूएफा यूरोपा लिग, यूएफा सुपर कप जितेका थिए भने यूएफा च्याम्पियन्स लिगको उपविजेता बनेको थियो । उनलाई सन् २०१४ देखि भने चेल्सीले आफ्नो प्लेइंग सेटमा सामेल गरेका थिए । त्यसयता २०१७–१८ सिजनसम्म चेल्सीमा बिताउने क्रममा उनले १ सय २६ खेलमा आफ्नो कुशलता प्रस्तुत गरेका थिए ।

जारी सिजनमा पुनः अर्को स्पेनिस महारथी क्लब रियल मेड्रिडमा उनी आबद्ध भईसकेका छन् । स्पेनिस ला लिगाको कुरा गर्दा सन् २०१३ मा उनी लोनमा एथ्लेटिको मेड्रिडमै रहँदा ’ला लिगा गोलकिपर अफ द ईयर’ समेत घोषित भएका थिए ।

बेल्जियमको राष्ट्रिय टोलीमा भने उनी सन् २०११ देखि सामेल हुँदै आएका छन् । त्यसक्रममा उनले राष्ट्रीय टोलीबाट ६७ क्याप जितिसकेका छन् । त्यसअघि उनी सन् २००९ देखि २०१० सम्म बेल्जियम यूथ–१८ राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य बनेका थिए ।

फिफा विश्वकपमा पहिलो पटक बेल्जियमले तेस्रो स्थान हासिल गर्दा उनको प्रदर्शन सम्झनलायक बनेको थियो । यस्तै चेल्सीले २०१४–१५ तथा २०१६–१७ को इंग्लिश प्रिमियर लिगको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्