हेपाटाईटिस ‘बि’ फैलिएको आशंकामा मन्त्रालयको टोली डोटीमा



विमल विष्ट, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं २ छतिवनमा हेपाटाईटिस ‘बि’ फैलिएको आशंकामा प्रदेश नं. ७ को सामाजिक विकास मन्त्रालयको टोली मंगलबार छतिवन पुगेको छ । छतिवनको रुपसकाँडा गाउँमा केही दिन यता हेपाटाईटिस ‘बि’ को सन्त्रास फैलिएपछि स्थानीयको बिशेष आग्रहमा डाक्टर विकास दुवाडी लगायत ५ जनाको टोली छतिवन पुगेको स्थानीय युवा भरत कुँवरले जानकारी दिनु भयो । हेपाटाईटिस ‘बि’ हो वा होइन पत्ता लगाउन स्वास्थ्य परीक्षण गर्ने गरी प्राविधिक उपकरणसहित टोली छतिवन पुगेको डा. दुवाडीले बताउनु भयो । जोरायल गाउँपालिका वडा नं. २ का अध्यक्ष मानबहादुर मल्लका अनुसार सो गाउँका ७÷८ जनामा हेपाटाईटिस ‘बि’ प्रमाणित भईसकेको छ ।
हेपाटाईटिस ‘बि’ को आशंकामा सो गाउँका केही व्याक्तिले बाँकेको कोहलपुरमा र केहीले कैलालीको अत्तरीयामा रगत जाँच गराएको बुझिएको छ । रुपसकाँडा गाउमा ३ जना ब्यक्तीमा गएको २०७३ सालदेखी नै हेपाटाईटिस ‘बि’ रोग रहेको र उनिहरुले हाल औषधी सेवन गरिरहेको वडा अध्यक्ष मल्लले बताउनु भयो । झण्डै एक साता देखी फेरी उक्त गाउँमा हेपाटाईटिस ‘बि’ फैलिएको आशंकामा एक सय ५१ जनाले रगत परीक्षण गराएको जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले बताउनु भयो । उहाँले भन्नु भयो ‘ रुपसकाँडा गाउमा हेपाटाईटिस ‘बि’ फैलिएको छ भन्ने खबरले सबै गनउलेले आ आफनो रगत परिक्षण गराउन थालेका छन् रगत जाँचको रिपोर्टपछि सबै कुरो थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्