कान्छो मान्छे भएपनि जेठो हुने गरी काम गर्छु



कान्छालाल जिम्बा काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । २६ वर्षमा गाउँपालिका अध्यक्ष भएका जिम्बा सबैभन्दा कान्छा उमेरका स्थानीय तह प्रमुख हुनुहुन्छ । तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवार भएर प्रमुख बन्नुभएका उहाँले विकट गाउँलाई सुगम बनाएर अरुसँग प्रतिस्पर्धा गर्ने गरी योग्य बनाउने बताउनुभएको छ । काभ्रेमा रहेका १३ स्थानीय तहमध्ये २ वटामा तत्कालीन माओवादीले, ७ वटामा तत्कालीन नेकपा एमालेले र ४ वटामा नेपाली कांग्रेसले प्रमुख जितेका छन् । महाभारत गाउँपालिकालाई स्थानीयबासीहरु कर्णालीको रुपमा दाँज्ने गर्छन् । कान्छो मान्छे भए पनि जेठो हुने गरी काम गर्छु भन्ने जिम्बासँग गरिएको समसामयिक कुराकानीः

महाभारत गाउँपालिका अहिले के गर्दैछ ?
महाभारत गाउँपालिका काभ्रेको दुर्गम भेगमा रहेको सानो गाउँपालिका हो । यसलाई हामी कर्णालीको रुपमा लिन्छौं । काभ्रे भन्नेबित्तिकै बनेपा र धुलिखेललाई मात्र सम्झने गरिन्छ तर त्यसभित्रको कथा निकै दर्दनाक छ ।

गाउँपालिका अहिले नयाँ नीति र कार्यक्रमका साथ अघि बढेको छ । निर्वाचनका समयमा गरेका वचनबद्धता पूरा गर्नु मेरो कर्तव्य हो तर यसो भन्दैमा सम्भव नहुने र अनावश्यक भाषण गरेर मैले अध्यक्ष जितेको पनि होइन । गाउँमा जे जति बजेट छ त्यसलाई पारदर्शी ढंगले परिचालन गर्दै गाउँको बिकासमा लागिरहेको छु ।

अहिलेसम्म के के काम गर्नुभयो ?
मैले अहिलेसम्म गरेका धेरै काम छन् त्यसमध्ये केही मुख्य कामहरुमा गाउँपालिका केन्द्र कहाँ हुने भन्ने थियो त्यो बिबाद सुल्झिएको छ । गाउँपालिकाको लागि १६ रोपनी निःशुल्क जग्गा प्राप्त भएको छ, त्यहाँ राम्रो भवन बनाउँछौं । गाउँपालिकाबाटै नागरिकता र पासपोर्ट बितरण सुरु भएको छ । हिजोको दिनमा यो गाउँपालिका भनेपछि कमजोर छ भनेर गलत ढंगले बुझ्ने गरिन्थ्यो त्यो सोचमा परिवर्तनको सुरुवात गरेका छौं ।

अब मैले गर्नुपर्ने केही जिम्मेवारीहरु छन् त्यसलाई प्राथमिकतामा आधारमा गर्नेछौं । यसपालिको ३५ करोड ११ लाख रुपिँयाको बजेट छ, गाउँका सबै वडामा समान रुपले बाँडेर वडाबाट नै बिकासको क्रान्ति गर्ने छौं । जबसम्म वडा र त्यहाँभित्र रहेका साना टोलहरु बन्न सक्दैनन् तबसम्म केन्द्रको बिकास हुन सक्दैन । खुला दिशामुक्त क्षेत्र घोषणा गरेर त्यसअनुसारका काम भइरहेका छन् । बैकल्पिक उर्जाका लागि सोलार बितरण गरिएको छ ।

कोही पनि अध्याँरोमा बस्नु नपरोस् भन्ने मान्यता हो । अझै पनि महाभारत र खानीखोला गाउँपालिकामा केन्द्रको विद्युतीकरण योजना पुग्न सकेको छैन, यसका लागि पनि पहल गरेका छौं । सदरमुकाम र गाउँको सम्वन्ध जोडिएको छैन । सदरमुकाम आउनु भनेको एउटा ठूलो युद्ध जित्नुजस्तो भएको छ ।

प्रदेश र केन्द्रीय सरकारले के कस्तो सहयोग गरेका छन् र योजना पार्न सक्नुभयो कि सक्नुभएन ?
मैले माग्दैमा सबै कुरा पाइहालिन्छ भन्ने होइन तर मैले अहिलेसम्म जे पहल गरिरहेको छु धेरै थोरै काम भइरहेका छन् । प्रदेशले विशेष क्षेत्रका रुपमा केही योजनाहरु दिएको छ । केन्द्रीय सरकारले विशेष गरी ठूला योजना सञ्चालन गर्ने भएकाले त्यतातर्फ पनि कहिले एक्लै त कहिले सामूहिक रुपले पहल गरिरहेका छौं ।

अहिले स्थानीय तहलाई धेरै अधिकार दिएकाले पनि उनीहरु अल्मलिएर जिम्मेवारी बहन गर्न सकिरहेका छैनन् भन्ने आरोप छ नि ?
यो अधिकार कसैले पनि दिएको होइन र नचाँहिदो अधिकार र जिम्मेवारी मागेका छैनौं । संविधानले नै केही अधिकार दिएको छ त्यसलाई व्यवहारमा देखाउने काम हाम्रो हो ।

३ तहका सरकारबीच समन्वय भएको खण्डमा देशको बिकास र प्रगति असम्भव छैन तर एकले अर्काको अस्तीत्व नस्वीकार्ने र मैले गरेको मात्र राम्रो भनेर अरुलाई मतलव गरिएन भने सबै प्रक्रिया अलमलमा पर्न सक्छ ।

शिक्षाको कुरा गर्ने हो भने काभ्रेमा रहेका १३ वटा स्थानीय तहमध्ये दोस्रो बढी भएको तह हो हाम्रो । शिक्षालाई गुणस्तरीय बनाउने योजनामा सबैको सहयोग र समर्थनको खाँचो छ । बेलामौका शिक्षामा राजनीति हुने र यसै कारणले शिक्षामा बिकृति आउने गरेको गुनासो पनि छ । शिक्षामा बिकृति आए यसले समाजमा ठूलो हानी गर्ने भएकाले पनि विशेष ध्यान दिएका छौं ।

कुन पार्टीको शिक्षक हो भन्ने मलाई जान्नु छैन तर राम्रो पढाउनुपर्छ ती शिक्षकहरूले ।

स्थानीय तहले जथाभावी कर उठाएका छन् भनिन्छ, जनतालाई केही सेवा नै नदिई मनपरी कर उठाउँदा सेवाग्राहीमाथि घात भएन र ?
वास्तवमा तपाइले राम्रो प्रश्न गर्नुभयो । मैले बुझ्न नसकेको कुरा पनि यही हो, नचाहिने हल्ला गरिएको छ । हामीले परम्परामा लाग्दै आएको करभन्दा कुनै पनि शिर्षकमा बढी लिएका छैनौं ।

कर तिरेपछि आफ्नोपनको महसुस पनि हुन्छ तर कहीँकतै नाजायज रुपमा अस्वभाविक कर लगाइएको छ भने त्यसतर्फ भने हाम्रो छाता संस्था गाउँपालिका महासंघले खोजी गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्