किन रिसाउँछन् बालबालिका ?



रविन घिमिरे
कुनै न कुनै बाहनामा हाम्रा बालबालिका रिसाउने गरेको हामी पाउँछौं । कहिले यो चाहियो कहिले त्यो चाहियो कहिले यो खान्छु त्यो खान्न, यो लाउँछु, त्यो खेल्छु, त्यहाँ जान्छु आदि आदि बाहनामा । तर कसैले पनि किन बालबालिका रिसाउँछन् भन्ने कुरामा वास्ता गरिँदैन । बरु उल्टै रिसाएको बेला गाली गर्ने, पिट्ने, झपार्ने, सिस्नो लगाउने, कोठमा थुन्ने नांगै बनाउने गरेर अभिभावकत्वको अहमता देखाउँछौँ । यदि हामी असल र सफल अभिभावक हौँ भने उनीहरु किन रिसाउँछन् भन्ने कुरा पनि जान्नु आवश्यक छ ।

बालबालिकाहरुमा रिसको प्रवृत्ति उनीहरुको उमेरअनुसार परिवर्तन हुँदै जान्छ । सन् २०१४ मा इन्डियन जर्नल साइकोलोजिकल मेडिसिनमा प्रकाशित एक अध्ययनले किशोरहरुमा किशोरीहरुको तुलनामा बढी रिस देखिने जनाएको छ । उक्त अध्ययनले सहभागी उमेर १६ देखि १९ वर्षका किशोरमा बढी रिस देखिएको जनाएको छ । ससाना बालबालिका त आफूले भनेको चीज नपाएमा, अभिभावकको माया नपाएमा रिसाउने गर्छन् । त्यसमा पनि खासगरी टिनएजरहरु अत्यन्तै बढी रिसाउने गर्छन् । १३ बर्षदेखि १९ बर्षसम्मको उमेरलाई टिनएज भनिन्छ । यो यौवनावस्था र किशोरावस्थाको समय हो । यतिबेला उनीहरुमा शारीरिक र मानसिक, संवेगात्मक विकास तीव्र रुपमा भइरहेको हुन्छ । शरीरमा पनि तिब्र परिवर्तन हुन्छ । त्यसकारण स्वाभाविक नै उनीहरुमा परिवर्तन आउने हँुदा अभिभावक घरपरिवारका सदस्यहरुका कुरामा ध्यान नदिने गरेको पाइन्छ ।

हर्मोनको विकासले उनीहरुको मनमस्तिष्कमा हलचल मच्याइरहेको हुन्छ । ससानो कुरा कुरामा उनीहरुले अप्रत्यासित व्यवहार देखाउँछन् । किशोरकिशोरीको संवेगात्मक विकासले गर्दा उनीहरुले फरक व्यवहार देखाउँछन् । आवेगमा रिसाएर कतिपयले अरुलाई आक्रमण गर्ने, सामान फुटाउने, घर छोडेर हिँड्नेजस्ता व्यवहार देखाउँछन् । तर अभिभावकले भने उनीहरुको मनोविज्ञान नबुझि आफ्ना छोराछोरीमाथि हस्तक्षेप गर्न खोज्दा उनीहरु झन् रिसाउने झर्किने गर्छन् । हुन त अभिभाकलाई छोराछोरीप्रति माया नहुने होइन । आफ्नो मुटुको टुक्रा नै सम्झेर माया गर्दागर्दै आफ्ना छोराछोरीले गलत बाटो समात्लान् भन्ने कुराले पनि अभिभावक सधैं चिन्तित हुन्छन् । त्यसैले बालबालिकाका कुरामा अभिभावकले हस्तक्षेप गरिरहेका हुन्छन् । तर पनि बालबालिका अभिभावकले आफ्ना लागि सही भनेका हुन् भन्ने नबुझी आफ्नो व्यवहार मन नपराएर गाली गरेको सम्झिइ रिसाउने गर्छन् ।

बालबालिका रिसाउनुमा आमाबाबुको सम्बन्ध र व्यवहार साथै सम्पूर्ण पारिवारिक व्यवहारले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कतिपय आमाबाबु आफू आफूमै झगडा गर्ने, कराउने, रिसाउने गर्नाले पनि बालबालिकाले अभिभावकबाट रिसाउन झगडा गर्न सिक्छन् । अभिभावकले छोराछोरीको मनोविज्ञान, शारीरिक अवस्था, रुचि र आवश्यकतालाई बुझनु अति आवश्यक हुन्छ । जिम्मेवार आमाबाबुले आफ्ना छोराछोरीको इच्छा र आवश्यकतालाई बुझ्न नसक्दा परिवारमा पारिवारिक बेमेल, बैमनश्यता आउने र अझ टिनएजरहरुले स्वनिर्णयले काम गर्दा कतिपय पारिवारिक घटनासमेत हुने गरेको छ । तर अहिलेका हामी अभिभावक बालबालिकालाई दिनुपर्ने समय बालबालिकालाई नदिएर पैसाका लागि दिइरहेका छौं । खासमा यो तीनै बालबालिकाको भविष्यका लागि पालनपोषण शिक्षादीक्षा लगायतका लागि नै गरेको पनि हो ।

किनकि बालबालिकाकासँग समय बिताएर मात्र पनि आम्दानी हुँदैन । तर पनि हामी अलिकति समय बालबालिकाको इच्छा, मनोरञ्जन आदिका लागि छुट्यायौँ भने उनीहरुमा मायाको कमि हुँदैन । मायाको कमि नभएपछि उनीहरु आफैं समझदार बन्दै जान्छन् । उनीहरुको आवश्यकता पूरा गर्दै जाने हो भने उनीहरुमा नकारात्मक सोचाइको विकास हुँदैन । हामीले उनीहरुसँग हाँस्ने, खेल्ने, कुराकानी गर्ने समयको व्यवस्थापन गर्नुपर्छ । यसले गर्दा उनीहरु अभिभावकसँग हेलमेल हुन्छन् र मनको कुरा खुलेर बताउन सक्छन् ।

टिनएजरहरुले अभिभावकलाई शारीरिक परिवर्तन, विपरित लिंगप्रतिको आकर्षणजस्ता कुरा बताउन अप्ठ्यारो मान्छन् र मनमै लुकाउने प्रयास गर्छन्, जसले गर्दा उनीहरुमा अतिरिक्त मानसिक भार परिरहेको हुन्छ । यस्तो अवस्थामा अभिभावकले बच्चालाई सहज वातावरण बनाइदिनुपर्छ, ताकि उनीहरु खुलेर सबै कुरा गर्न सकून् । तर यसो नहँुदा बालबालिकाले आफ्ना कुरा साथीभाइसँग बढी बताउने गर्छन् । भनिन्छ संगत गुनाको फल । त्यसकै कारण आफूले संगत गरेका साथीको निर्णयलाई राम्रो होस् या नराम्रो तर उनीहरुले त्यसै अनुसारको काम गर्ने तर अभिभावकको कुरा नसुन्ने भएकाले पनि कतिपय समस्या आउने हुन्छ । अभिभावकलाई आफ्ना कुरा बताउन नसक्नु र अभिभावकले पनि उनीहरुका कुरा बुझ्न नसक्दा किशोरकिशोरी तथा बालबालिकाहरु रिसाएको स्वभाव देखाएका हुन्छन् ।

हामी अभिभावकले सधैँ आफ्ना बालबालिका बिग्रेलान् भनेर नै उनीहरुका नराम्रा कुरामा बढी चासो दिन्छाँै । तर बालबालिकाले नराम्रो कुराप्रति हस्तक्षेप गरेको मन पराउँदैनन् । त्यसकारण हामीले उनीहरुको सानो सानो कुरामा पनि खुसी व्यक्त गर्ने र उनीहरुप्रति सकारात्मक व्यवहार देखाउने गर्नुपर्छ । उनीहरुले गरेका राम्रा काम पनि बुझेर राम्रा कामको तारिफ गर्नुपर्छ । बरु उनीहरुको साथीसर्कल कस्तो छ बुझेर उनीहरुका व्यवहार सच्याउनु पर्ने भएमा साथीमार्फत नै सकारात्मक मार्गदर्शन दिएर बानीमा परिवर्तन ल्याउन सकिन्छ ।

वास्तवमा किशोरावस्थाका बालबालिकालाई खेलकुद, म्युजिक, साहित्यजस्ता अतिरिक्त गतिविधिमा व्यस्त राख्ने प्रयास गर्नुपर्छ । यसबाट उनीहरुमा शारीरिक, मानसिक क्षमता विकास हुन्छ । अनुशासन, संघर्ष, मिहेनत गर्न सिक्छन् । जसले गर्दा नराम्रो काम र सोचाइमा उनीहरुको ध्यान जाँदैन । यदि उनीहरु रिसाइहाले भने पनि उनीहरुलाई गाली गर्ने, कुट्नेभन्दा पनि किन रिसाए भन्ने कुरा बुझेर उनीहरुको रिसलाई शान्त पार्ने काम गर्नुपर्छ । उनीहरुका समस्या के कस्ता छन् भन्ने कुरा बुझेर समस्याको समाधानतर्फ लागेमा रिसाउने बानीको अन्त्य गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्