आरालो लाग्दो शेयर बजार, मारमा परे लगानीकर्ता



काठमाडौँ ।
बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि शेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन ।

आज शेयर बजार ओरालो लागेर कारोवार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब चार अङ्क अर्थात् ३।९२ बिन्दुले घटेर एक हजार १७८।५० मा झरेको छ । यस्तै ‘क’ वर्गका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।५४ बिन्दुले घटेर २४८।९९ बिन्दुमा कायम छ ।

आज कूल १५९ कम्पनीको १० लाख २० हजार ५९५ कित्ता शेयर रु २७ करोड ७३ लाख आठ हजारमा कारोवार भएको छ । स्टकका अनुसार दुई उपसमूहको शेयर बढ्दा अन्य उपसमूहको घटेको छ । विकास बैंक ०।१८ र अन्य समूह ५।०७ बिन्दुले बढ्दा बैङ्किङ ३।५३, जलविद्युत् १४।६२, होटल २।३६, वित्त ०।०७, निर्जीवन बीमा २७।५५, उत्पादन ५४।६७, माइक्रोफाइनान्स ४।४१, जीवन बीमा ३८।६४ ले घटेको छ ।

एनआइबिएल समृद्धि फण्ड र लक्ष्मी भ्यालू फण्ड एकका लगानीकर्ताले आज कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकका शेयर लगानीकर्ताले गुमाएका छन् ।

बोनस शेयर सूचीकृत

मेघा बैंक लिमिटेडको ९९ लाख ८६ हजार ९५१ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ । यस्तै लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४४२ कित्ता बोनस शेयर पनि आजै सूचीकृत भएको छ । यसैगरी नेपाल कम्युनिटी विकास बैंकको चार लाख १७ हजार ४६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै एनआइबिएल समृद्धि फण्ड एकले एकाइधनीलाई करसहित १२ प्रतिशतका दरले हुन आउने रु १२ करोड प्रतिफल वितरण गर्ने जानकारी स्टकलाई गराएको छ । प्रतिफलपश्चात् उक्त सामूहिक योजनाको खुद सम्पत्ति मूल्य प्रतिएकाइ १० रुपैयाँ नौ पैसा कायम रहनेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्