लोकप्रियताका आधारमा अमेरिकामा नेम्पा अवार्ड



नेपाली फिल्मको विकास, विस्तार, प्रवद्र्धन र सम्वद्र्धनका लागि भन्दै नेपाल चलचित्र संघले अमेरिकाको सिकागोमा नेम्पा पपुलर फिल्म अवार्र्ड–२०१८ गर्ने भएको छ। एसोसियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, नेप्लिज एसोसियसन इन साउथेस्ट अमेरिका र नेप्लिज एसोसियसन इन द अमेरिका र नेपाल चलचित्र संघको संयुक्त आयोजनामा अवार्ड हुन लागको हो।

संघद्वारा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रदीपकुमार उदयले आगामी भदौ १५ देखि १७ सम्म अमेरिकाको सिकागोमा हुने नेपाली नेसनल कन्भेन्सन चल्ने र सोअन्तर्गत नेम्पा पपुलर फिल्म अवार्ड आयोजना हुनेछ। उदयका अनुसार लोकप्रियताका आधारमा विधा तय गरिएको छ। जसअन्तर्गत नेम्पा पपुलर फिल्म, निर्देशक, नवनिर्देशक, अभिनेता, अभिनेतृ, दशक अभिनेता, दशक अभिनेतृ, सहअभिनेता, सहअभिनेतृ, हास्य कलाकार, संगीतकार, गायक, गायिका तथा नेम्पा अचिभमेन्ट अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड गरी कुल १५ विधामा अवार्ड प्रदान गरिनेछ।

कार्यक्रममा सहभागी हुन नेपाल चलचित्र संघका पदाधिकारीहरुका साथै कलाकारहरु नीर शाह, भुवन केसी, सुनील थापा, रेखा थापा, झरना थापा, दीपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी, अर्जनु श्रेष्ठ, अञ्जु पन्त, सुगम पोखरेल, अर्जुन पोखरेल, विल्सनविक्रम राई, नीता ढुंगाना, जितु नेपाल, केदार घिमिरे, सरिता लामिछाने, सुमन गिरी र सीतादेवी तिमल्सिनालगायत अमेरिका जानेछन्।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रदीप उदयले आफूहरूले अमेरिकामा नेपालीको बाक्लो बस्ती रहेको विभिन्न स्थानमा नेपाली फिल्म कसरी प्रभावकारी ढंगमा रिलिज गर्न सकिन्छ र नेपाली फिल्मको विकासका लागि के–के गर्न सकिन्छ भन्ने विभिन्न विषयमा अन्तरक्रियात्मक छलफल गर्ने पनि बताए।

‘यस विषयको छलफलका लागि अवार्ड समारोह राम्रो प्लेटफर्म भएकाले हामीले अवार्डलाई माध्यम मात्र बनाएका हौं’, पोखरेलले भने– ‘जहाँ नेपालबाट सहभागी हुने कलाकार, प्राविधिक, निर्माता, वितरक तथा प्रदर्शक र अमेरिकामा रहेका नेपालीबीच नेपाली चलचित्रसम्बन्धी अन्तरक्रिया कार्यक्रम हुनेछ।’ संघका तृतीय उपाध्यक्ष नरेन्द्र महर्जनले नेपाली फिल्म क्षेत्रमा फरक खालको काम गर्ने सोचबाट अमेरिकामा अवार्ड कार्यक्रम गर्न लागेको बताए।

‘हामी अवार्ड मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा कसरी नेपाली फिल्म पु¥याउने भन्ने कुरामा पनि छलफल गर्नेछौं’, महर्जनले भने– ‘अवार्ड कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका माधवकुमार नेपाल प्रमुख अतिथि हुनुहुन्छ र नेपालका लागि अमेरिकी राजदूतको पनि सहभागिता हुनेछ। यही अवसरमा नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने कुरामा छलफल पनि हुनेछ।’ समारोहमा गीत, संगीत, हास्य तथा नृत्यको पनि प्रस्तुुति रहने कार्यक्रममा जानकारी दिइएको छ।

जमानामा मोसन पिक्चर अवार्ड आयोजना गर्दै आएको संघले गत वर्ष अमेरिकामै अवार्ड कार्यक्रम गर्ने घोषणा गरे पनि अमेरिकी सरकारले मनोनयनमा परेका कतिपय कलाकार तथा प्राविधिकलाई नै भिसा नदिएपछि स्थगित गरेको थियो। यस वर्ष भने प्रतिस्पर्धाका आधारमा नभई लोकप्रियताका आधारमा अवार्ड प्रदान गरिने कार्यक्रम तय गरिएको उदयले बताए।

प्रतिक्रिया दिनुहोस्