खाल्डाखुल्डीले भरतपुरको केन्द्रीय बसपार्कको अवस्था बिजोग



नेपाल समाचारपत्र, चितवन ।

भरतपुर महानगरको मुटु मानिएको केन्द्रीय बस टर्मिनलभित्रको पिच भत्किएर नाजुक बनेको छ । सडक भत्किएको लामो समय हुँदा पनि स्थानीय प्रशासनले मर्मतमा चासो दिएको छैन । पिच भत्किएर खाल्डाखुल्डी पर्दा बसपार्क वरिपरी दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् ।

खाल्डोमा बर्षात्को पानी जम्दा र हिउँदमा धूलो उड्दा यात्रुहरुले आवतजावत गर्दा सास्ती पाइरहेका छन् । खाल्डाखुल्डीले नेपालकै नमूना बसपार्क भनिएको केन्द्रिय बस टर्मीनलको सुन्दरता नै हराएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष यमलाल कँडेलले आफू पनि त्यही बाटो हरेक दिन ओहोरदोहोर गर्दा निकै सास्ती पाएको बताए । उनले शहरी विकास मन्त्रालयले गरेको ढिलाइका कारणले सडक मर्मत हुन नसकेको जानकारी दिए । उनले भने, ‘टेन्डर प्रक्रिया अघि बढिसकेको छ, अब यही कात्तिक, मसिंरबाट मर्मत सुरु हुन्छ ।’ वडा अध्यक्ष कँडेलले महानगरमा जनप्रतिनिधि आउनु भन्दा पनि अगाडिदेखि सडक भत्किएको बताए ।

यस्तै भरतपुर महानगरपालिकाका इन्जिनियर कृष्णबहादुर मल्लले महानगरले सडक टाल्दा धेरै पैसा खर्च हुने भएकोले मर्मतलाई नै पर्खिएको बताए । उनले भने, ‘ टेन्डरको काम सकिएकोले अब शहरी विकासले छिट्टै काम सुरु गर्छ ।’ उनले फेरि पनि मर्मतको काम ढिला भएमा महानगर आफैले मर्मत गर्ने दाबी गरे ।

बसपार्कभित्र र बाहिरको सडकमा दैनिक आहोरदोहोर गर्ने यातायात व्यवसायीहरुले भने स्थानीय प्रशासनको लापरवाहीले गर्दा सडक भत्किएको एक वर्ष भइसक्दा पनि बेवास्ता गरिएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्