उसुको प्रशिक्षण चीनमा हुने



काठमाडौं, (नेस)
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत केही खेलका खेलाडीको वैदेसिक प्रशिक्षणका लागि विभिन्न देसमा प्रशिक्षण लिने कार्यक्रम भइरहेको छ । फुटबलरलाई थाइल्यान्ड लग्दैछ भने हालै फेन्सिङका खेलाडीलाई दक्षिण कोरियामा वैदेसिक प्रशिक्षण दिलाउन त्यतैतिर पठाएको छ । यसै कडीमा उसु खेलाडीहरुलाई चीनमा वैदेसिक प्रशिक्षण दिने भएको छ । शुक्रबार उसुका ९ खेलाडी चीनको ग्वान्सीमा प्रशिक्षणका लागि प्रस्थान गरेको छ ।

जसमा पुरुषतर्फ चित्रसिंह ठकुरीले ७० केजी, मंगलप्रसाद थारुले ६० केजी, पदमबहादुर ठकुल्लाले ५६ केजी, विजय सिन्जालीले छान् छ्वान तथा युवराज थापाले नान् छ्वान अलराउन्डमा प्रतिस्पर्धा गर्नेछन् । एक खेलाडी टोलीमा समावेश हुन सकेनन् । वीरमान लामा हाल ढाडको नशा च्यापिएकोले चाबहिलको दीर्घायु अस्पतालमा उपचार्थ छन् । उनी यदि खेल्न सकेमा ६५ केजी तौलमा प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ १२ औं सागमा स्वर्ण जितेकी निमा घर्तीमगरले नान छ्वान अलराउन्डमा प्रतिस्पर्धा गर्नेछिन् । अन्यमा जुनी राई ५२ केजीमा, लुमन्ति श्रेष्ठ ६० केजीमा, सुस्मिता तामाङ छान् छ्वानमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा योञ्जन रहेका छन् । नेपालले उसुमा १९९० मा बेइजिङमा भएको एसियाली खेलकुदमा भाग लिएदेखि निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्