सहुलियत कर्जा पाउने भुकम्प पीडितको संख्या न्युन



चिरञ्जीवी मास्के, दोलखा
दुई प्रतिशत ब्याजदरमा भुकम्प पीडितहरुलाई उपलब्ध गराईने सहुलियत कर्जा लिनेको संख्या दोलखा जिल्लामा अत्यन्त न्युन रहेको छ । दोलखामा रहेका बैङ्कहरुले सहुलिय कर्जा उपलब्ध गराउने कुरामा चासो नदिएकोले त्यस्तो कर्जा लगानी न्युन देखिएको मेलुङ गाँउपालिकाका प्रवक्ता हिरा थोकरको भनाई छ ।

भुकम्पीय आवास पुर्ननिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाईको तथ्याङ्क अनुसार दोलखा जिल्लामा लाभग्राहीको सूचिमा नाम समावेश भएको ६२ हजार ८ सय ३३ जना भूकम्प पीडित परिवार रहेका छन् । जसमा ६० हजार ६ सय ६५ जनाले अनुदान सम्झौता गरेका छन् । तर जिल्लामा रहेको सरकारी तथा नीजि स्तरमा सञ्चालित बिभिन्न बैङ्कहरुले अहिलेसम्म मुश्किलले २३ जना भुकम्प पीडितलाई दुई प्रतिशत ब्याजमा सहुलियत कर्जा उपलब्ध गराएको पाईएको छ ।

आर्थिक बर्ष ०७४÷०७५ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार दोलखाको जिरी नगरपालिकामा रहेको प्राईम बैङ्कले सबैभन्दा बढी १५ जना भुकम्प पीडितलाई सहुलियत २ प्रतिशत ब्याजदरमा कर्जा लगानि गरेको पाईएको छ । प्राईम बैङ्कले ८ जना भुकम्प पीडितलाई १५÷१५ लाख र ७ जना भुकम्प पीडितलाई ८ देखि १० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराएको बैङ्कका प्रबन्धक सुशीलकुमार उपाध्यायले बताए ।

त्यसैगरी सदरमुकाम चरिकोटमा रहेको प्रभु बैङ्कले ३ जना भुकम्प पीडितलाई सहुलियत कर्जा लगानि गरेको छ भने एक जनाको प्रकृयामा रहेको जनाएको छ । सदरमुकाम चरिकोटमै रहेको राष्ट्रिय बाणिज्य बैङ्कले दुई जना भुकम्प पीडितलाई कर्जा लगानि गरेको र ४ जनाको प्रकृयामा रहेको सहायक प्रबन्धक रुपेस विष्टले बताए । त्यसैगरी नविल बैङ्कले दुई जना भुकम्प पीडितलाई कर्जा लगानि गरेको प्रबन्धक सन्तोष भट्टराईले बताए । त्यसैगरी सेञ्चुरी बैङ्कले एक जना भुकम्प पीडितलाई कर्जा लगानि गरेको र दुई जनाको प्रकृयामा रहेको जनाएको छ ।

नेपाल बैङ्क लिमिटेड चरिकोटले भने अहिलेसम्म भुकम्प पीडितको लागि उपलब्ध गराईने सहुलियत कर्जा लगानि नगरेको प्रबन्धक विदुर थापाले बताए ।

सहुलियत ब्याजमा भुकम्प पीडितहरुको लागि कर्जा लगानि गर्न प्रकृया झन्झटीलो र राष्ट्र बैङ्कबाट स्वीकृत भै आउन समय पनि धेरै लाग्ने भएकोले लगानिमा समस्या देखिएको प्रभु बैङ्कका प्रबन्धक पुरुषोत्तम केसीको भनाई छ । सुरुमै २ प्रतिशत ब्याजदरमा लगानि गर्न नसकिने भएकोले बैङ्कहरुले सुरुमा अन्य घर कर्जा जसरीनै प्रकृया अगाडि बढाउने र राष्ट्र बैङ्कबाट स्वीकृत आएपछि त्यसलाई सहुलियत कर्जामा सारिने प्रभु बैङ्कका प्रबन्धक पुरुषोत्तम केसी बताउछन् ।

प्राईम बैङ्क जिरी शाखाका प्रबन्धक सुशील कुमार उपाध्याय सुरुमा राष्ट्र बैङ्कले भुकम्प पीडितको लागि सहुलियत कर्जा १० बर्षको लागि उपलब्ध गराउने भनेकोमा अहिले उक्त कर्जालाई पुर्नकर्जा अन्र्तगत राखेकोले दुई बर्षकोमात्र अवधि भएकोले समस्या देखिएको बताउछन् । प्राईम बैङ्कले कर्जा लगानि गरेको १५ जना भुकम्प पीडितमध्य एक जनाले कर्जा चुक्ता गरीसकेको र अर्को एकजनाको कर्जा चुक्ता हुने क्रममा रहेको प्रबन्धक उपाध्यायले बताए ।

दोलखा जिल्लामा लाभग्राही सूचिमा नाम समावेश भएका भुकम्प पीडित मध्य ५० प्रतिशत भन्दा केहि बढी ३५ हजार ७ सय १७ जनालेमात्र आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता अनुदान रकम लिएका छन् । अधिकांश भुकम्प पीडितले आर्थिक अभावकै कारण आवास निर्माण गर्न नसकेको बेला बैङ्कहरुले निर्वाध रुपमा २ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराए दोलखामा पुर्ननिर्माणको काम चाँडै सम्पन्न हुने थोकर बताउछन् ।

सेञ्चुरी बैङ्कका प्रबन्धक भोला खतिवडा भने बैङ्कमा सहुलियत कर्जाको लागि आउने भुकम्प पीडितहरुले आवश्यक प्रकृया र कागजात पुरा गरे कर्जा स्वीकृतिको लागि केन्द्रमा पठाईने भएकोले बैङ्कले चासो नदिने भन्ने सवाल नै नउठ्ने बताउछन् ।

प्रतिक्रिया दिनुहोस्