आफ्नो पार्टी विजयी भएको इमरानको दाबी



इस्लामावाद ।
क्रिकेटको चर्चित खेलाडी भएर पाकिस्तानी राजनीतिमा प्रवेश गर्नुभएका इमरान खानले अहिलेको निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा धेरै ठाँउमा विजयी भएको दाबी गर्नुभएको छ ।

बिहीबार सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उहाँले बुधबार भएको आम निर्वाचनमा आफ्नो पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) धेरै ठाउँमा विजयी भएको दाबी गर्नुभएको हो ।

निर्वाचन सम्पन्न भएको २४ घण्टाभित्रमा मतपरिणाम सार्वजनिक हुने भनिए पनि अहिलेसम्म औपचारिक रूपमा मत परिणाम भने सार्वजनिक भएको छैन ।

पाकिस्तानमा केही हिंसात्मक घटनाका बीच बुधबार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो ।

मतदान सकिएको २४ घण्टाभन्दा बढी समय भइसक्दासमेत मत परिणाम सार्वजनिक नभएको र अनपेक्षित ढिलाइले चुनावी नतिजाको वैधानिकतामा नै प्रश्न उब्जिएको आलोचकहरूको भनाई छ ।

पराजित भएका दलहरूले मतपरिणाम अस्वीकार गर्ने चेतावनी दिएपछि निर्वाचन आयोगले अहिलेसम्म मतपरिणाम सार्वजनिक गर्न नसकेको बताइएको छ ।

कतिपय अन्य दलहरूले निर्वाचनमा धाँधली भएको भन्दै मत परिणाम अस्वीकार गर्ने संकेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै अनधिकृत चुनावी परिणामलाई स्वीकार गर्न नसकिने जनाएको छ ।

पाकिस्तान चुनाव आयोगले चुनावमा धाँधली भएको भन्ने आरोपको खण्डन गर्दै सफ्टवेयरमा समस्या आएका कारण चुनावी परिणाम घोषणामा ढिलाई भएको स्पष्ट गरेको छ ।

“यो चुनाव शतप्रतिशत निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न भएको छ,” प्रमुख निर्वाचन आयुक्त सरदार मुहम्मद राजाले बताउनुभयो ।

सन् २०१३ देखि नै सत्तामा रहेको पाकिस्तान मुस्लिम लीग–नवाज ९पीएमएल–एन०ले चुनावी परिणामलाई “खुलेआम धाँधली” को संज्ञा दिँदै यस परिणामलाई स्वीकार्न नसकिने जनाएको छ, र यस नतिजाका विरुद्धमा राजनीतिक एवं कानूनी विकल्प प्रयोग गरिने स्पष्ट गरेको छ ।

कुनै समय पाकिस्तानको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले समेत चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको छ ।

आफ्नो पार्टीका प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गर्नसमेत नदिइएको सो पार्टीका अध्यक्ष बिलावल भुट्टोले ट्वीटमार्फत जानकारी गराउनुभएको छ ।

चुनावमा दिनहुँ हिंसात्मक घटना हुन थालेपछि देशभरका ८५,००० मतदान स्थलमा करिब ३५०,००० सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

राष्ट्रिय सभाका २७० स्थान र चारवटा प्रान्तीय सभाका ५७७ स्थानका लागि ११,००० भन्दाबढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

पाकिस्तानमा कूल २७० स्थान रहेको राष्ट्रिय सभाबाट सरकार गठनका लागि १३७ स्थान आवश्यक पर्दछ ।

“हामीलाई जनताले मतादेश दिएका छन्, हामी सफल भएका छौँ,” ६५ वर्षीय खानले सञ्चारकर्मीहरूसँग उत्साहित हुँदै भन्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्