आलोचित सरकार र प्रधानमन्त्रीको रोइलो



जनतालाई धेरै सपना देखाएर बनेको ओली सरकार पाँच महिना नबित्दै चौतर्फी आलोचनाको सिकार बनेको छ । चुनावअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको घोषणापत्रलाई विश्वास गरेर झन्डै दुई तिहाइले नेपाल कम्युनिस्ट पार्टीलाई जिताएर देश चलाउने अभिभारा सुम्पेका जनता पनि उल्टो गतिमा सरकार हिँड्न थालेपछि निराश बनेका छन् ।

चुनावअघि पार्टीले गरेका कुनै पनि बाचा पूरा हुने छाँट नदेखेपछि जनता निराश बन्नु स्वाभाविक नै हो ।

सरकार बनेलगत्तै के–के न गर्छु जस्तो गरी प्रधानमन्त्री ओलीसहित सरकारका मन्त्रीहरु सडकमा भाषण गर्दै हिँडेका थिए । तर, अहिलेसम्म आइपुग्दा उनीहरुको बोली र व्यवहारमा आकाश–जमिन फरक देखिएको छ । काममा सिन्को पनि नभाँच्ने तर बोलीमा लंका–पलंका हाँक्ने प्रधानमन्त्रीदेखि मन्त्रीहरुको रवैयाले दुई तिहाइ बहुमत प्राप्त सरकार यति छिट्टै आलोचित हुनु अस्वाभाविक पनि होइन ।

झन् आफ्नो र सरकारको व्यापक आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी ओलीले सोमबार पार्टी कार्यालय धुम्बाराहीमा कार्यकर्ताहरुलाई गरेको सम्बोधनमा सरकारको बचाउ नगरेको भन्दै कार्यकर्तासँग आक्रोश व्यक्त गरेपछि यो सरकारले भविष्यमा पनि केही गर्नेवाला छैन भन्ने कुरा स्पष्ट भएको छ ।

कामभन्दा कुरालाई प्राथमिकता दिँदै आउनुभएका प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरुको मुख थुन्न काम गरेर देखाऊ भन्नुपर्ने ठाउँमा बोलेर र लेखेर जवाफ दिन नसकेको भन्दै आलोचना गरेपछि प्रधानमन्त्रीलाई अभैm कामभन्दा कुरा नै प्यारो रहेको पुष्टि हुन्छ । चिकित्सा शिक्षा सुधारका लागि २० दिनदेखि अनशनरत डा. गोविन्द के.सी.को सवालमा हिजोका दिनसम्म पनि प्रधानमन्त्री संवेदनशील नरहेको कुरा उहाँले दिनुभएका अभिव्यक्तिहरुबाट स्पष्ट हुन्छ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा यस विषयमा आपैंmले गरेको सम्झौता र प्रतिबद्धतासमेत प्रधानमन्त्रीले बिर्सिसक्नुभएको छ ।

काम केही गर्न नसके पनि कमसे कम प्रधानमन्त्रीजस्तो व्यक्ति आपैंmले बोलेका कुराहरुमा त अडिग हुन सक्नुपर्ने हो !

सम्भवतः नेपालको राजनीतिक इतिहासमा यति चाँडै विश्वसनीयता गुमाउने सरकार यो नै पहिलो होलाजस्तो लाग्छ । सरकार गठन भएको पाँच महिनाको अवधिमा त अल्पमतका सरकारहरु पनि यति बदनाम भएका छैनन् ।

हिजो छुमन्तर गरेर देशको कायापलट गरिदिन्छु भन्ने प्रधानमन्त्री ओली आज काम गर्न नसक्नुको सबै दोष विगतका सरकारहरुलाई देखाइरहनुभएको छ । लाजै नमानीकन भर्खर बनेको सरकारलाई पहिल्यै भत्किएका बाटाहरु देखाएर तमासा गरेको भनी विरोधीको आलोचना गर्नुहुन्छ । अहिले आएर दुई–चार महिनाभित्र देशलाई समृद्धि र विकासको बाटोमा अघि बढाउन सत्तैmन भन्नुहुन्छ ।

भनिन्छ, बिहानीले दिन देखाउँछ । जनताले पनि दुई–चार महिनाभित्रै देशलाई समृद्ध बनाएर देखाऊ भनेका छैनन् । चुनावअघि अनेकौं सपना देखाएर दुई तिहाइ जनमत प्राप्त गरिसकेपछि जनतालाई अनुभूति हुने गरी दुई–चार वर्षमा देश समृद्धिमा पुग्न सक्ने केही लक्षण र संकेत पनि त देखाउन सक्नुप(¥यो नि !

विगतमा पटक–पटक सरकारको उपप्रधानमन्त्री बनेर जिम्मेवारी निभाइसक्नुभएका प्रधानमन्त्रीले यति छिटो देश बनाउन सकिँदैन भनेर के चुनावअघि थाहा नपाएकै हुनुहुन्थ्यो होला त ? हत्याको अभियोगमा सर्वोच्च अदालतले आजीवन कैद सुनाएका व्यक्तिलाई असल व्यक्ति भन्दै मन्त्रिपरिषद्बाट निर्णय गराएका प्रधानमन्त्रीले संविधान, नियम, कानुन र विधिअनुसार सरकारले काम गर्छ भन्दा को पत्याउँछ ?

चुनावअघि वाईफाई फ्री भन्ने, जनताको जीवनस्तर उठाउने समाजवाद भन्ने अनि संघीयताको नाममा नेताहरुको जीवनस्तर उठाउन जनताको ढाड सेक्ने गरी कर बढाउने, संविधानको भावना विपरीत राजदूत सिफारिस गर्ने अनि विधिअनुसार काम नगरेकोमा प्रतिपक्षी र जनताको विरोधलाई लिएर तल्लो स्तरको गालीगलौजमा उत्रने प्रधानमन्त्रीको रक्षामा पार्टीका कार्यकर्ता उत्रेनन् भनेर रोइलो गर्नुको के अर्थ ?

प्रतिक्रिया दिनुहोस्