स्वतन्त्रता सेनानी पुरस्कारबाट दाहाल सम्मानित



पाँचथर ।
यसवर्षको ‘स्वतन्त्रता सेनानी पुरस्कार’बाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललाई सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आज फिदिममा आयोजना गरिएको समारोहमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि रु २२ हजार २२२ तथा सम्मान पत्र रहेको छ ।

पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पु¥याउने पत्रकारहरुमध्ये महासंघ पाँचथर शाखाले हरेक वर्ष एक जनालाई सो पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, शिव गाउँले र किशोर नेपालले सो पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ ।

यसैगरी ‘स्व हरिचरण भद्रमायाँ वातावरण पत्रकारिता पुरस्कार’ पाँचथरकी पत्रकार राधा गौतमलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार ५५५ रहेको छ ।

यस्तै महासंघ शाखा पाँचथरको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने विपी सामुदायिक वन फिदिम, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुद्धत सुवेदी, तत्कालीन जिल्ला वन कार्यालय प्रमुख दिवेशमणि त्रिपाठीलाई पनि सम्मानपत्रबाट सम्मान गरिएको छ ।

सो अवसरमा सम्मानित व्यक्तित्व दाहालले नेपाली पत्रकारितालाई अझ बढी विश्वसनीय, मर्यादित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिदैं विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी कुनै प्रकारका ऐन, कानून नल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ र जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जनमैत्री र व्यवसायिक पत्रकारिताको विकास गर्नुपर्ने आवश्यकता औल्यानुभयो ।

महासंघका जिल्ला अध्यक्ष लवदेव ढुङ्गानाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
रासस

प्रतिक्रिया दिनुहोस्