‘ब्रेक्जिट’ मन्त्रीको राजीनामा



लण्डन ।
युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका बेलायतका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।

प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषद्मा रहनुभएका डेभिसले राजीनामा दिएपछि बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान गरिएको छ ।

इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उहाँको राजीनामा आएको छ । यसबाट पर्ने प्रभावका बारेमा यहाँ विचार विमर्श सुरु भएको छ ।

कतिपय विश्लेषकहरुले डेभिसको राजीनामाबाट प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठा¥यारोमा पर्न सक्ने पनि जनाएका छन् ।

इयुसँग वार्तागर्ने कार्यलाई नै प्रमुख जिम्मेवारी दिएर डेभिस ब्रेक्जिट मन्त्रीको रुपमा सन् २०१६ मा नियुक्त हुनुभएको थियो । तर ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने डेभिसको राजिनामाको स्वागत गरेका छन् ।

यस विषयमा बेलायतमा भद्रगोलको अवस्था रहेको र थेरेसा मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताउनु भएको छ ।

ब्रेक्जिट वार्ताहरुको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिनुभएका अडानहरुबारेमा उहाँको मतभेद पनि भएको बताइएको थियो ।

सोही कारण पनि मन्त्री डेभिसले यसअघि नै पनि धेरै पटक राजीनामा दिने चेतावनी दिनु भएको थियो । उहाँले राजिनामा दिए पनि सरकारभित्र भने उहाँको असन्तुष्टि नरहेको बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्