सुबासिच नायक



टाईब्रेकरमा टोलीले जित्दा गोलकीपर नायक बन्ने गर्दछ । क्रोएसियाको जितमा गोलरक्षक डानियल सुबासिच नायक बनेका छन् । क्रोएसियाको जितमा पनि गोलकीपर सुबासिचले महत्वपूर्ण भूमिका निभाएका छन् ।

३३ वर्षीय सुबासिच ६ फिट ३ इञ्च अग्ला छन्। उनी हाल फ्रेन्च लीग वान क्लब मोनाकोका लागि व्यवसायिक फुटबल खेल्छन्। जारी विश्वकप अन्तर्गत यसअघि डेनमार्कविरुद्ध भएको अन्तिम १६ को खेलमा पनि सुबासिचले तीन वटा पेनाल्टी रोकेका थिए। वास्तवमा सन् २००६ मा डेनमार्कविरुद्धको मैत्रिपूर्ण खेलबाट उनले अन्तर्राष्ट्रिय खेल करियर डेब्यू गरेका हुन् ।

जारी विश्वकपको क्वाटरफाइनलको निर्धारित ९० मिनेटको अन्तिम क्षणतिर चोटग्रस्त बनेका उनले अन्ततः आफ्नो क्षमता प्रमाणित गरेरै छाडे । एउटै विश्वकपमा दुई पटक टाईब्रेकरमा विजयी हुने सन् १९९० मा अर्जेन्टिनापछि क्रोएसिया पहिलो टिम बनेको छ । विश्वकपको इतिहासमा सुबासिच चार वा त्योभन्दा बढी पेनाल्टी रोक्ने तेस्रो गोलकिपर समेत बनेका छन् ।

उनको व्यवसायिक करिअरको सुरुवात भने सन् २००३–०४ को सिजनमा जदार क्लबबाट भएको हो । सन् २००८ मा उनलाई हाज्दुक स्प्लिटमा लोनमा पठाइएको थियो। सोही क्लबमा हुँदा उनको क्लबले क्रोएसियन कप जित्न सफल भयो। सन् २०१२ को जनवरीदेखि उनी मोनाकोमा आवद्ध भएका हुन् । विश्व फुटबल जगतमा गोल गर्ने गोलकिपरहरु औँलामा गन्न सकिन्छ । जसमध्ये सुबासिच पनि जोडिएको छ ।

सन् २०११–१२ को सिजनमा बोउलोग्नेविरुद्ध २–१ को विजयमा उनैले फ्रिकिकबाट विजयी गोल गरेका थिए । यस्तै २०१४–१५ को सिजनमा ८ सय ४२ मिनेटसम्म गोल नबेहोरी क्लिनसिट राख्न उनी सफल भएका थिए । सन् २०१६–१७ को सिजनमा उनी लिग–१ को गोलकिपर अफ दि इयर भएका थिए।सन् २०१४ देखि उनी क्रोएसियाको पहिलो रोजाइको गोलकिपर रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्