बेलायती दम्पती नर्भ एजेन्ट आक्रमणमा



लन्डन, (एजेन्सी)
बेलायतको विल्टसायरमा एक महिला र एक पुरुष नोभिचोक ग्यासको संसर्गमा आएपछि अचेत अवस्थामा फेला पारिएको छ। बेलायती प्रहरीका अनुसार संसर्गमा आएको यो नर्भ एजेन्ट र यसअघि रुसी पूर्वगुप्तचर सर्गेइ स्क्रिपल र उनकी पुत्रीमा गरिएको ग्यास एउटै भएको दाबी गरेको छ।

यसपालि नर्भ एजेन्टको शिकार भएका ४५ वर्षीय चार्ली रोली र ४४ वर्षीया डन स्टर्गेस पति–पत्नी भएको बुझिएको छ। तिनीहरूलाई शनिबार आमेस्वरीस्थित आफ्नै निवासमा अचेत अवस्थामा भेट्टाइएको थियो।

नगर प्रहरीले तिनीहरूलाई आक्रमण गरिनुका कारण थाहा हुन नसकेको जनाएको छ। यस घटनाबारे छलफल गर्न गृहमन्त्री साजिद जाविदको अध्यक्षतामा सरकारको आपत्कालीन कोब्रा समितिको बैठक बसेको छ। आमेस्वरीको मगल्टन रोडस्थित तिनीहरूको घरमा पहिला स्टर्गेस अचेत भएर ढलेकी थिइन्।

त्यसपछि सोही दिन उनका पति रोली पनि बिरामी भएपछि त्यहाँ दुईपटक सरकारी स्वास्थ्यकर्मीको टोली पुगेको थियो। सवल्सायर प्रहरीले शुरूमा तिनीहरू अवैध हेरोइन सेवनका कारण बिरामी भएको शंका गरिएको बताएको छ।

विल्टसायरको पोर्टोन डाउनस्थित रक्षा अनुसन्धान केन्द्रमा गरिएको शूक्ष्म विश्लेषणपछि तिनीहरूमाथि नोभिचोकको असर परेको पत्ता लागेको थियो। अघिल्लो दिन रोली र स्टर्गेसले सालिसवरी शहरमा किनमेल गर्दै दिन बिताएका थिए।

सोकी शहरमा स्क्रिपल र उनकी पुत्री युलियामाथि नोभिचोक नर्भ एजेनट आक्रमण गरिएको थियो। तिनीहरूलाई पसिना काढ्दै, आँखा ठूलो पार्दै अनौठो आवाज निकालिरहेको अवस्थामा फेला पारिएको थियो।

प्रतिक्रिया दिनुहोस्