३ सिंगल थिएटरले गर्ने फिल्म वितरणको काम



निर्माताहरूलाई फिल्म चलाएबापतको भुक्तानी समयमै गर्ने भन्दै पुराना वितरक तथा सिंगल थिएटरका हल सञ्चालकहरूले फिल्म वितरण कम्पनी सञ्चालनमा ल्याएका छन्। राजधानीका ३ सिंगल थिएटर गंगा हल, गुण सिनेमा र अष्टनारायणका सञ्चालकहरू मिलेर फिल्म वितरण कम्पनी सञ्चालनमा ल्याएका हुन्।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर जीजीए ग्रुप नाममा फिल्म वितरण गर्ने सञ्चालहरूले बताए। झन्डै १५ वर्ष एकल वितरण गरेर केही समय यो क्षेत्रबाट विश्राम लिएका गंगा हलका सञ्चालक मदनमान वज्राचार्यले केही समयअघि चलचित्र संघ र निर्माता संघको सम्झौताअनुरूप रहेर आफ्नो संस्थाले काम गर्ने जानकारी गराए। ‘हलले जतिसुकै समयमा पैसा दिए पनि निर्मातालाई हामी फिल्म उत्रेको दुई हप्ताभित्र रकम भुक्तानी गर्नेछौं’, उनले भने– ‘फिल्म चलेको महिनौंसम्म पनि भुक्तानी नपाएको गुनासो मेटाउन हामी अगाडि आएका हौं।

कपितय हलले समयमा भुक्तानी नदिएका पनि होलान्, तर समयमै भुक्तानी पाएका हलको पैसा पनि वितरकले निर्मातालाई समयमै नदिएको पाएका छौं। फिल्मको व्यापार भनेको क्यास बिजिनेस हो। त्यसैले हामी हलबाट पैसा आए पनि नआए पनि समयमै निर्माताको पैसा चुक्ता गर्छौं।’ त्यसै गरी सभासद तथा फिल्म व्यवसायी रामवीर मानन्धरले बक्स अफिसले मात्र हिसाब किताब क्लियर नगर्ने भन्दै निर्माता, हल सञ्चालक र डिस्ट्रिब्युटर आफैमा पनि हिसाबमा क्लियर हुनुपर्ने बताए।

ग्रुपले फिल्मकर्मी अशोक शर्माको फिल्म जय भोलेबाट फिल्म वितरणको कार्य शुरूआत गर्ने भएको छ। सोमबार नै गु्रपका सञ्चालहरूले शर्माको फिल्म वितरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्दै साटासट गरे। कार्यक्रममा निर्माता विनोद मानन्धरले आफ्नो फिल्म मेघा र फागु चलाएको महिनौंसम्म पनि सोबापतको भुक्तानी नपाएको गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस्