नेपाल भाषाको फिल्मलाई पपुलर च्वाइस अवार्ड



आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा सम्पन्न दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७५ मा तापलय् नामक नेपालभाषाको फिल्म पब्लिक च्वाइस अवार्ड चुम्न सफल भएको छ।

नेपाल भाषा, तामाङ, गुरुङ, मगर, किराँत राई, शेर्पा, माझी, थारू, राजवंशी, सुनुवारलगायत विभिन्न १४ भाषाका फिल्मबीच भएको प्रतिस्पर्धामा तापलय्ले दर्शक मतका सो अवार्ड चुम्न सफल भएको हो। मगर भाषाको रैंया, सुनुवार भाषाको गो सु नङा र नेपाल भाषाको तापलय्बीच कडा प्रतिस्पर्धा भएकोमा पुरस्कार भने तापलय्ले चुमेको हो। बालमुकुन्द प्रजापतिद्वारा निर्देशित सो फिल्मलाई २५ हजार रुपियाँ नगद प्रदान गरिएको थियो। त्यसै गरी १२ नेपाली एक चिहानका निर्देशक एवं आदिवासी जनजाति फिल्मकर्मी अरुणकुमार प्रधानद्वारा स्थापित ११ हजार रुपियाँको प्रोत्साहन पुरस्कार शन्तकुमार राईद्वारा निर्देशित किरात राई समुदायको ढ्वाङकुमलाई प्रदान गरियो।

पर्यटन बोर्डमा आइतबार सम्पन्न समापन समारोहमा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले विजयीहरूलाई पुरस्कार प्रदान गरेका थिए। समापन समारोहमा महोत्सव सफल पार्न विभिन्नरूपले योगदान पु¥याएका सहयोगीलाई मन्त्री बास्कोटाले कदरपत्र प्रदान गरेका थिए भने सहभागी १४वटै फिल्मलाई प्रोत्साहनस्वरूप प्रतिफिल्म ५ हजार रुपियाँ प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री बास्कोटाले नेपालको पहिचान भनेको जातीय विविधता र सांस्कृतिक विविधता भएको चर्चा गर्दै यसको जगेर्ना र विकास गर्न फिल्म एउटा सशक्त माध्यम हुने भएकाले यस्तो माध्यमको संरक्षण गर्न नेपाल सरकार सदैव तयार रहेको बताए। आयोजक महासंघका अध्यक्ष अमृतबहादुुर सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका पूर्व अध्यक्ष प्रतिमाया पुन, संस्थापक उपाध्यक्ष पत्रकार विजयरत्न तुलाधर असंबरे, तामाङ फिल्मकर्मी जेनिश डोङ, माझी फिल्मकर्मी बिन्दु माझीलगायतले नेपालमा आदिवासी जनजाति मातृभाषाका फिल्म र महोत्सवको उपादेयताबारे आआफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्