बोर्डको वार्षिकोत्सवमा विशेष फिल्म र सम्मान



लचित्र विकास बोर्डले २ फिल्मलाई विशेष फिल्म घोषणा गर्दै १८औं वार्षिकोत्सव मनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यमा शनिबार चाबहिल सरस्वतीनगरस्थित बोर्डकै हलमा आयोजित कार्यक्रमका बीच शिवम् अधिकारी निर्देशित पञ्चायत र घनश्याम लामिछानेद्वारा निर्देशित अग्नी दहन फिल्मलाई विशेष फिल्म घोषणा गर्दै बोर्डले यसपालिको वार्षिकोत्सव मनाएको हो।

विशेष फिल्म घोषित भएबापत यी दुई फिल्मले विदेश प्रदर्शनका लागि सबटाइटलिङ गर्न २ लाख रुपियाँ पाउनेछन्। सोही अवसरमा छक्का पञ्जा निर्देशक दीपाश्री निरौलालाई महिला सशक्तीकरण सम्मानबाट सम्मान गरिएको छ। बोर्डले नेपाली फिल्म क्षेत्रलाई स्वायत्तता प्रदान गर्ने अभिप्रायले सरकारले २०५७ सालमा सूचना तथा सञ्चार मन्त्रालय मातहत रहने गरी बोर्डको स्थापना गरेको थियो। सो अवसरमा बोर्डले भावी कार्ययोजना प्रस्तुत गरेको थियो। जसअन्तर्गत नेपाली फिल्म क्षेत्रको बृहत्तर हितका लागि बक्स अफिस प्रणालीलाई आर्थिक वर्ष २०७५÷०७६ भित्रै लागू गरिसक्ने लक्ष्य राखिएको बोर्ड अध्यक्ष निकिता पौडेलले जानकारी गराइन्।

राष्ट्रिय चलचित्र विकास नीति लागू हुन नसक्दा फिल्म क्षेत्रले आशातित उपलब्धि प्राप्त गर्न नसकिरहेको अवस्थामा यही अर्थिक वर्षभित्र नै नीति लागू गर्ने बोर्डको तयारी रहेको पनि उनले बताइन्। पौडेलका अनुसार नेपालको पहिलो फिल्म आमा र पहिलो रंगीन फिल्म कुमारीलाई डिजिटलाइजेसन गरेसँगै पुनः प्रदर्शन गर्ने र तत्कालीन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका एक दर्जन फिल्मलाई महोत्सवमा प्रदर्शन गर्ने योजना बोर्डले अघि सारेको छ भने नेपाललाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विस्तार गर्न अन्तर्राष्ट्रियस्तरको फिल्म सिटीस“गै काठमाडौं आपसापकै क्षेत्रमा एउटा सुविधा सम्पन्न सुटिङ स्टुडियो निर्माण गर्ने लक्ष्य बोर्डले राखेको छ।

प्रतिक्रिया दिनुहोस्