म्याच प्रिभ्यु: दुई युरोपियन टोलीबीच प्रतिस्पर्धा



अन्तिम १६ अन्तर्गत दुई यूरोपियन राष्ट्र स्वीडेन र स्विजरल्याण्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न मंगलबार भिड्दै छन् ।

समूह एफ को बिजेता बन्दै स्वीडेनले अन्तिम १६ मा स्थान पक्का गरेको हो भने स्विजरल्याण्ड समूह ई को उपबिजेताका रुपमा अन्तिम १६ स्वीडेनसँग भेट पक्का गरेको हो । स्वीडेनका सेबेस्टियन लार्सन भने दुइ पहेँलो कार्ड देखेका कारण स्वीजरल्याण्डविरुद्ध मैदानमा हुने छैनन् । उनको स्थानमा हिल्जे मार्क अथवा गुस्ताभ सेभेन्सनले मध्यभागमा खेल्ने सम्भावना छ ।

यता स्वीजरल्याण्ड भने समूह ई को दुई खेलमा बराबरी र एक खेलमा जितको नतिजा निकाल्दै अन्तिम १६ मा पुगेको हो । स्वीडेनविरुद्धको खेलमा दुईटा पहेँलो कार्ड देखेका दुई डिफेन्डर फाबियन स्चेर र स्टेफेन लिचेस्टाइनरले खेल्ने छैनन् । यस्तै चोटग्रस्त स्टेफेन जुबेर पनि स्वीस टिममा नटाउन सक्छन् ।

रसिया विश्वकपमा स्वीडेनको प्रदर्शन उत्कृष्ट रहेको छ । समूह एफको दुई खेल जितेर स्वीडेनले अन्तिम १६ मा आफुलाई उभ्याएको हो । समूह चरणमा जर्मनी जस्तो सशक्त टिमलाई हराएको मेक्सिको विरुद्ध ३–० को सहज जित निकाल्दै स्वीडेन समूह बिजेता बनेको हो ।

४–२–३–१ को सम्भावित रणनीतिमा देखिने स्वीजरल्याण्ड जस्तो युरोपेली अनुभवी प्रतिद्वन्दीविरुद्ध ४–४–२ को रणनीति अपनाएको स्वीडिश स्ट्राइकरद्वय मार्कस बर्ग र ओला तोईभेनोनको आक्रमण भने फितलो हुनसक्छ ।

स्वीस गोलरक्षक यान सोम्मेर र डिफेन्डरहरु लान्ग, एलभेदी, एकान्जी र रोड्रिगुएजले स्वीडिश अग्रपंक्ति मिडफील्डरहरु क्लास्सेन, सेभेन्सन, एकडल र फोर्सबर्गको बाधक बन्न सक्नेछ ।

यस्तै स्वीडेनका गोलरक्षक रोबिन ओल्सेनसहित डिफेन्डरहरु लुस्टिग, लिन्डेलोफ, ग्रान्कभिस्ट र अगास्टिसनले पनि स्वीस स्ट्राईकर मारियो गाभरानोभिचसहित अट्याकिंग मिडफील्डरहरु शाकिरी, जेमाइली र जुबेरलाई रोक्न भरमग्दुर प्रयास गर्नेछ । स्वीजरल्याण्डको अग्रपंक्ति र रक्षापंक्तिलाई भने डिफेन्सिभ मिडफील्डरद्वय ग्राणित साका र भालोन बेहरमीले सघाउने छन् ।

तर यसपटक भाग्यले भने स्वीडेनलाई साथ दिएको छ । विश्वकप छनोटमा नेदरल्यान्ड्स र इटाली असफल बन्नु र जारी विश्वकपमा समूहमा रहेको जर्मनी बाहिरिंदा पनि स्वीडेनलाई भाग्यले साथ दिएको थियो । यता तुलनात्मक रुपमा स्वीडेन भन्दा स्वीजरल्याण्ड लचीलो टोली हो । स्वीजरल्याण्डसँग जार्डेन शाकिरी, स्टेभन जुबेर र ब्लेरिम जेमाइली जस्ता खेलाडीहरु छन् ।

जार्डेन यस्ता खेलाडी हुन् जसले फल्यान्क र मध्यभागबाट विपक्षीलाई हैरान पार्न सक्छन् । यस्तै गोलरक्षक यान सोमेर पनि स्वीजरल्याण्डका अर्को एक पर्खाल हुन् ।

हेड टू हेड
यी दुईले एक अर्काविरुद्ध २८ पटक खेलेका छन् । जसमा स्वीजरल्याण्ड ११ पटक विजयी बन्दा स्वीडेनले १० पटक जित हासिल गरेका छन् । यस्तै ७ पटक भने बराबरीको नतीजा आत्मसात गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्