ब्राजिल क्वाटरफाइनलमा पुग्यो



मस्को, (एजेन्सी)
दोस्रो हाफमा दुई गोल गर्दै पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले रुसमा जारी विश्वकपमा क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

सोमबार नकआउट चरणको खेलमा पहिलो हाफमा गोलरहित खेलेको ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले हराएको हो । दुबै गोलमा नेयमारको प्रमृुख भुमिका रह्यो ।

५१ औं मिनेटमा विलियमको क्रसमा नेयमारले क्लोज रेन्जमा गोल गरेर ब्राजिललाई १–० को अग्रता दिलाए । यसपछि ८८ औं मिनेटमा नेयमारकै क्रसमा रोबेर्टो फर्मिनोले गोल गरेका थिए । यो गोलसँगै ब्राजिलको अन्तिम आठको यात्रा तय भयो । फर्मिनोले अक्टोबर २०१६ मा विश्वकप छनोटअन्तर्गत बोलिभियाविरुद्ध गोल गरेपछि पहिलो पटक गोल गरे ।

नेयमारले विश्वकपमा व्यक्तिगत छैटो गोल गरेर दुर्लभ कीर्तिमान पनि राखेका छन् । उनले मेक्सिकोविरुद्ध गोल गर्नासाथै लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछाडि पारेका छन् । नेयमारले विश्वकप करियरमा ३८ सटमा ६ गोल गर्दा मेसी र रोनाल्डोले त्यति नै गोल क्रमशः ६७ र ७४ सट प्रहार गरेका छन् ।

उता मेक्सिकोको लागि विश्वकपको यात्रा फेरि पनि नकआउट चरणसम्म सीमित भयो । विश्वकपमा यो उत्तर अमेरिकी टोलीले पहिलो चरण पार गरेको छ । तर टोलीको अन्तिम १६ मै यात्रा रोकिने क्रम यस पटक पनि दोहोरियो । यो समेत गरेर मेक्सिको विश्वकपमा लगातार सात पटक नकआउट चरणबाट अगाडि बढ्न सकेन ।

 

प्रतिक्रिया दिनुहोस्