नारायणगढ–मुग्लिन सडक खण्डको टोपे खोलामा ठूलो पहिरो खस्यो, सडक अवरुद्ध



नेपाल समाचारपत्र, चितवन ।

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत टोपे खोला भन्ने स्थानमा ठूलो पहिरो खसेको छ । आज विहान ११ः५० बजेको समयमा पुनः ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा बन्द भएको हो ।

यसअघि विहानैदेखि स–साना पहिरोले बाटो अवरुद्ध हुँदै आईरहेको थियो । अहिले पहिरो खस्ने क्रम नरोकिएकोले पहिरो हटाउन समस्या भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

पहिरो ठूलो भएकाले र निरन्तर वर्षा भईरहेकोले पूर्ण रुपमा बाटो संचालन गर्न धेरै समय लाग्न सक्ने बताए । उनले आजको दिन नारायणगढ–मुग्लिन सडक खण्ड भएर सकेसम्म यात्रा नगर्न आग्रह गरे ।

केही दिन यता वर्षा हुन थालेपछि नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्