टोकियोमा दिलिपको रमिता



टोकियो, जापान, (नेस)। नायक दिलिप रायमाझी र नायिका रजनी केसीको विशेष भूमिका रहेको फिल्म रमिताको जापानमा विशेष प्रदर्शन हुने भएको छ।

आगामी जुलाई १६ तारिक सोमबारका दिन टोकियो नाकानो जिरो हलमा रमिताको नायक दिलिप रायमाझीसँगै नायिका रजनीसमेतको सहभागितामा रेड कार्पेट प्रिमियर गर्न लागिएको हो। जापानका युवा व्यवसायी ईश्वरीप्रसाद कँडेलको निर्माणमा तयार गरिएको फिल्म नेपाली युवाको कथालाई समेटेर तयार पारिएको छ। आगामी अगस्टबाट नेपालमा प्रदर्शन हुने तयारीमा जुटेको गाउँले परिवेशमा युवाको वास्तविक कथालाई समेटेर हास्यव्यंग्यरूपमा तयार गरिएको फिल्मको मिक्सिङ र सम्पादनको कार्य पूरा भइसकेको निर्माता कँडेलले जानकारी दिए।

रञ्जितकुमार क्षेत्रीको निर्देशनमा तयार गरिएको फिल्ममा प≈लाद सुवेदीको कथामा नायक दिलिपलाई रजनी केसी, विपासा बिसी, रिना थापा मगरको साथ रहेको छ भने सन्दीप कुर्लाकोटी, विनोद श्रेष्ठ र सुरवीर पण्डितले पनि साथ दिएका छन्। पोखरा, मुस्ताङ, बागलुङ, पर्वत र काठमाडौंलगायतका रमणीय स्थानमा छायांकन गरिएको फिल्मले दिलिप रायमाझीको नायकीलाई फेरि एकपटक पुनरागमन गर्ने अपेक्षा गरिएको छ।

फिल्ममा लोक दोहोरी गीतमा चर्चा कमाएका गायक सूर्य खड्काको स्वरबद्ध गीतलाई प्रमुख आकर्षण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्