स्पेन रुससँग पराजित भएको छैन



समूह ए को उपबिजेता बनेको आयोजक रूसले आइतबार राति अन्तिम १६ को तेस्रो खेलमा समूह बी को बिजेता स्पेनविरुद्ध खेल्दैछ ।

यी दुईले मस्कोस्थित लुजनीकी नेसनल स्टेडियममा खेल्नेछ । स्पेन समूह बी को बिजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । पछिल्ला १२ महिना भित्र यी दुई राष्ट्रले दोस्रो पटक रुसमा खेल्न लागेको हो । पछिल्लो भेटमा स्पेन र रूसले ३–३ गोलको बराबरी खेलेका थिए ।

तथ्याङ्क अनुसार स्पेन अहिलेसम्म रूससँग पराजित भएको छैन । जसलाई स्पेनले आइतबार निरन्तरता दिन्छ वा दिदैन, आइतबारको खेलपछि नै थाहा हुनेछ । स्पेन सन् २०१६ को यूरोकपबाट बाहिरिएको खेलपश्चात अहिलेसम्म खेलेका सबै म्याचमा अपराजित नै छ ।

तर पछिल्ला ८ म्याचमा मध्ये स्पेनले ३ खेलमा मात्र जितको नतिजा निकालेको छ । जसमध्ये अर्जेन्टिनाबिरुद्ध निकालेको ६–१ को जित उत्कृष्ट नतिजा हो । जारी विश्वकपको समूह चरणमा पनि स्पेनले १ जित र दुई बराबरी खेलेको थियो ।

यता समूह ए मा लगातार २ खेल जित्ने क्रममा ८ गोल गरेको आयोजक रूस अन्तिम खेलमा उरुग्वे सँग सहजै ३–० ले पराजित भएको थियो । विश्वकपमा साउदी अरेबियालाई ५–० ले पराजित गर्नु अघि रूसले ७ खेलमा जित देखेको थिएन ।

जसका कारण रुसलाई इतिहासकै कमजोर टोली भनिएपनि अहिले अन्तिम १६ मा छनोट भएर त्यसलाई गलत सावित गरेको छ । दुइटा पहेँलो कार्डका कारण स्पेनविरुद्ध हुने खेलमा रुसका इगोर स्मोलनिकोभ देखिने छैन ।

यसअघि नै इन्ज्यूरीका कारण रूसका प्रभावशाली खेलाडी जेगोएभ पनि विश्राममा रहेका छन् । अग्रपंक्तिमा अर्टेम ज्यूबाले उनको कमी पूर्ति गर्नेछ भने एलेक्जेन्डर गोलोभिन, मानुएल फर्नान्डेज र यूरी झिर्कोभ पनि स्पेनविरुद्ध तयार देखिएका छन् ।

सम्भावित ४–३–३ को स्पेनी रणनीति विरुद्ध रूसले ४–२–३–१ को रणनीति अपनाउन सक्ने सम्भावना छ । जसअन्तर्गत अट्याकिंग मिडफील्डरहरु सेम्डोभ, चेरिशेभ, गोलोभिन सहित फरवार्ड अर्टेम ज्यूबाको रसियाली आक्रमणलाई स्पेनका गोलरक्षक डेभीड डे जिया सहित डिफेन्डरहरु कार्भाजल, पिके, रामोस र अल्बाका लागि टाउको दुखाइ बन्न सक्छ ।

यता “टिकीटाका“ शैलीमा पोख्त स्पेनका मिडफील्डरहरू अल्कान्तारा, बुस्केट्स, इनेस्टा सहित फरवार्डहरु इस्को, कोस्टा र सिल्भाको छोटो–छोटो पास र मुभलाई झेल्न रुसी गोलरक्षक इगोर अकिनफिभसहित डिफेन्डरहरु मानुएल, कुटेपोभ, इगनासेभिच र झिर्कोभलाई पक्कै पनि सहज हुनेछैन ।

रुसी डिफेन्स र अग्रपंक्तिसँग समन्वय गर्न भने डिफेन्सिभ मिडफील्डरद्वय यूरी गजिन्स्की र रोमन जोबनिन मैदानको मध्य भागमा ब्यस्त हुनेछ । डेनिस चेरिशेभ, अर्टेम ज्यूबा र एलेक्जेन्डर गोलोभिनको प्रदर्शनमा रूस बढी निर्भर हुनेछ । यस्तै स्पेनको नतीजा भने डिएगो कोस्टा, डेभिड सिल्भा र इस्कोको प्रदर्शनमा भर पर्नेछ ।

हेड टू हेड:
स्पेन र रूसले एकअर्काविरुद्ध कुल ६ म्याच खेलेका छन् । जसमध्ये स्पेनले ४ खेल जित्दा २ खेल बराबरीमा टुङ्गिएको छ । यसक्रममा स्पेनले १२ गोल गर्दा रूसले ४ गोल मात्र फर्काएको छ । फिफा विश्वकपमा भने यी दुईबीच यसअघि भिडन्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्