गिरी सन्तोष पन्तसँगै सम्मानित: मह सञ्चार दाल, भात, तरकारी बनाउँदै



नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरी सम्मानित भएका छन्। हास्यव्यंग्य अभिनेता किरण केसीले जन्मदिनको अवसरमा शुक्रबार ललितपुरस्थित इन्द्रेणी फुडल्यान्डमा आयोजना गरेको हास्यव्यंग्यमा समाज तथा सम्मान कार्यक्रममा गिरीलाई ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्तका साथ नगद १० हजार रुपियाँसहित सम्मान गरिएको हो। गिरी र पन्तलाई प्रमुख अतिथि ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, हास्य अभिनेतृ वसुन्धरा भुसाललगायतले सम्मान गरेका थिए।

गिरी र पन्तलाई पत्रकारिता तथा कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको केसीले बताए। उनले हरेक वर्ष आफ्नो जन्मदिनको अवसर पारेर असार १५ गते पत्रकारिता र हास्यव्यंग्यका क्षेत्रमा योगदान पुर्याउने कलाकारलाई सम्मान गर्दै आएका छन्। किरणले आफ्नो जन्मदिनको अवसर पारेर हजुरबुबा बडाहाकिम स्व. भोजराज केसी, हजुरआमा स्व. हृदयकुमारी केसी, बुबा ले.क. स्व. दुर्गाबहादुर केसी र आमा स्व. इन्द्रकुमारी केसीको नाममा कला क्षेत्रमा योगदान दिने एक जना पत्रकार र एक जना हास्यव्यंग्यकारलाई सम्मान गर्दै आएका छन्।

कार्यक्रममा ६०औं जन्मदिन मनाएका अभिनेता केसीले कला क्षेत्रमा ४ दशक बिताएकाले आफ्नो क्षेत्रका मानिसलाई आफैंले सम्मान र प्रोत्साहन गर्नुपर्छ भन्ने सोचका साथ केही वर्षदेखि जन्मदिनको अवसर पारेर यस्तो कार्यक्रम राखेको बताए। ‘कलाकार र पत्रकार नङ र मासु जस्तै हुन्। त्यसैले मैले यो क्षेत्रका लागि केही गरौं भन्ने सोचिरहेको थिएँ र यसखाले कार्यक्रम गर्न थालेको हुँ। मैले मेरो परिवारलाई पनि भन्ने गरेको छु कि मैले यो पृथ्वी छोडेपछि पनि बरु मेरो श्राद्ध नगरे हुन्छ। तर, यो सम्मानको कार्यक्रमचाहिँ गर्नुु।’ –किरणले भने। सोही अवसरमा किरणले मह सञ्चारको प्रस्तुति र आफ्नो प्रस्तुतिमा अब मंसिर महिनादेखि नयाँ फिल्म दाल, भात, तरकारी निर्माण गर्ने घोषणासमेत गरे। यो फिल्म उनका पुत्र सूदन केसीले निर्देशन गर्नेछन्।

सम्मान ग्रहणपश्चात् बोल्दै नेपाल समाचारपत्रका समाचार सम्पादक गिरीले प्रतिष्ठित कलाकारका बीच सम्मानित हुन पाउँदा गौरवान्वितसँगै थप जिम्मेवारी बोध भएको बताए भने हास्यव्यंग्य अभिनेता पन्तले सम्मानले आफूलाई मात्र नभएर यस क्षेत्रमा लाग्ने सबैलाई हौसला मिल्ने बताए। ‘सरकारले कला क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको त्यति देखिँदैन। तर, सामाजिक क्षेत्रबाट भने कला क्षेत्रलाई सम्झिएको पाइन्छ।’ –उनले भने।

प्रमुख अतिथि हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले १५ गते नामक सिरियलमा किरणलाई पहिलोपटक खेलाएको र त्यहींबाट उनी सफल भएको स्मरण गरे। ‘त्यतिखेर सानो रोलका लागि कलाकार खोज्दा किरणको नाम आयो। ‘खर्च घटाउन गाडी भएको कलाकार चाहिएको थियो। किरणसँग गाडी थियो र लियौं।

भाडा बचाउन किरणलाई लियौं, तर ऊ त्यसैबाट सफल भयो’, मदनकृष्णले भने– ‘किरण सरल र सहयोगी स्वभावका छन्। आफ्नो जन्मदिनको अवसरमा कलाकारिता र पत्रकारितामा लामो समयदेखि योगदान दिएका दुई व्यक्तिलाई सम्मान गरेकोमा धन्यवाद।’ उनले कला क्षेत्रमा कामना मासिकको स्थापना पश्चात् कलाकारहरूले स्थान पाएको चर्चा गर्दै कामनाले सम्मान गरेपछि नै कलाकारहरूले सामाजिकरूपमा सम्मान र प्रतिष्ठा पाउन थालेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्