जवानलाई बढी रासन दिने जनरलको गोली हानी हत्या



सोल (एजेन्सी)
उत्तर कोरियामा सेनाका एक लेफ्टिनेन्ट जनरललाई सार्वजनिक स्थलमा ९० गोली हानी मृत्युदण्ड दिएको छ । गत जुन १२ मा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पसँग हात मिलाएर विश्वलाई शान्तिको सन्देश दिएका उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा उक्त दण्ड दिइएको बताइएको छ ।

ती सैन्य अधिकारी माथि जवानहरुलाई आवश्यक भन्दा धेरै रासन वितरण गरेको आरोप लगाइएको थियो । दक्षिण कोरिया स्थित उत्तर कोरियाली समाचारमा निगरानी राख्ने वेबसाइट डेली एनकेका अनुसार हत्या अगाडी एउटा कोठामा सुनुवाई भएको थियो ।

सुनुवाईमा उत्तर कोरिया वर्कस पार्टीका वरिष्ठ अधिकारी, मन्त्री, सर्वोच्च गार्ड कमान्ड, सेनाका कर्यौ अधिकारी उपस्थित थिए । सजायँ सुनाएपछि सुनान जिलाको कांग कांग सैन्य एकेडमीको फायरिंग जेलमा अधिकारीलाई सबैको अगाडी मारिएको थियो । अधिकारीको पहिचान ह्योन जु सांग भएको बताइएको छ ।

गत अप्रिल १० मा ह्योनले एक स्याटलाइट प्रक्षेपण स्टेसनका लागि तेल आपुर्तीको जाँच गर्ने क्रममा भनेका थिए– हामी रकेट र परमाणु हतियार बनाउनका लागि अब पनि भोकै बस्न सक्दैनौं । ‘ ह्योनको उक्त बयानलाई शासनको अनादरका रुपमा लिइएको थियो ।

ह्योनले प्रक्षेपण केन्द्र स्थित सैन्य अधिकारी र उनका परिवारका लागि १ टन इन्धन, ५ सय ८० किलोग्राम चामल र ७ सय ५० किलोग्राम मकै पठाउन आदेश दिएको थियो । यसलाई पार्टी विरोधी कार्य मानिएको थियो । ह्योनसँगै ९ जना अन्यलाई पनि आरोपी बनाइएको थियो ।

सजायँ दिने क्रममा ह्योनलाई फायरिग रेन्जमा लगिएको र अन्य आरोपीहरुबाट उनीमाथि ९० गोली प्रहार गर्न लगाइएको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि किमले एउटा बैठकमा निदाएका आफना रक्षा प्रमुख ह्योंग योंगलाई मृत्युदण्ड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्