स्विट्जरल्यान्ड उपविजेता



मस्को, (एजेन्सी)
विश्वकपको समूह ‘ई’ को अन्तिम खेलमा स्विट्जरल्यान्ड कोस्टारिकासँग बराबरीमा रोकिए पनि नकआउट चरणमा पुगेको छ।

बुधबार राति भएको खेलमा स्विट्जरल्यान्ड र कोस्टारिकाले २–२ गोलको बराबरी खेलेका थिए। स्विट्जरल्यान्ड ३ खेलबाट ५ अंक जोड्दै समूह उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्यो। स्विट्जरल्यान्डले पहिलो खेल ब्राजिलसँग १–१ को बराबरी खेल्यो भने दोस्रो खेलमा सर्बियालाई २–१ ले हराएको थियो।

खेलमा २ पटक अग्रता लिएर पनि स्वीस टोलीले जित आत्मसात गर्न सकेन। खेलको ३१औं मिनेटमा ब्लेरिम डेजमालीले टोलीलाई अग्रता दिलाएका थिए। तर ५६औं मिनेटमा कोस्टारिकाका केनडल वाट्सनले बराबरी गोल फर्काए। यस्तै खेलको ८८औं मिनेटमा जोसिप ड्रिमिचले गोल गर्दै स्विट्जरल्यान्डलाई जित निकट पुर्याए। तर इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गरेपछि कोस्टारिकाले विश्वकप २०१८ मा पहिलो अंक जोड्यो।

प्रतिक्रिया दिनुहोस्