जर्मनीलाई लाइफ लाइन



लन्डन, (एजेन्सी)
जर्मनीलाई लाइफ लाइन दिने क्रममा खेलको इन्ज्यूरी समयको अन्तिम ३० सेकेन्डमा विजयी गोल गर्दै टोनी क्रूस नायक सावित बनेका छन् ।

उनको निर्णायक गोलसँगै जारी विश्वकपको समूह एफ को दोस्रो चरणको खेलमा १० खेलाडीमा सिमित डिफेन्डिंग च्याम्पियन जर्मनीले स्विडेनलाई २–१ ले हरायो । शनिवार राति भएको सो खेलको अधिकांश समय जर्मनीले स्विडेनलाई दवाबमा राखेको थियो । जर्मनीका थुप्रै प्रहारहरुलाई स्विडेनको बलियो रक्षापंक्तिले रोकेको थियो ।


जर्मनी २ स्विडेन १
रुइस ४८’, क्रुस ९० प्लस ४ टोइभोनेन ३२’


खेलमा अग्रता भने स्विडेनले लिएको थियो । खेलको ३२ औं मिनेटमा वला टोइभोनेनले जर्मनीका गोलरक्षकलाई चिप गर्दै गोल गरेका थिए । पहिलो हाफ १–० मा सकिएको उक्त खेलको दोस्रो हाफमा भने जर्मनीले निक्कै आक्रामक खेल पस्केको थियो ।

खेलको ४८औं मिनेटमा जर्मनीका मार्को रुइसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बराबरीको नतिजापछि जर्मनीले थप गोलका लागि थुप्रै आक्रमण बुनेका थिए । तर खेलको ८२ औं मिनेटमा भने जर्मनीलाई झट्का लाग्यो । जेरोम बोयटेंगले रातो कार्ड (दोहोरो पहेँलो कार्ड) खाँदै मैदान बाहिरिएपछि जर्मनी १० खेलाडीमा सिमित भएको थियो ।

तर रक्षात्मक शैलीलाई निरन्तरता दिइरहेको स्वीडेनले भने १० खेलाडीमा खुम्चिएको जर्मनीबिरुद्ध फाइदा लिन सकेन । बरु उल्टै हार बेहोर्नु प¥यो । निध्र्रारित ९० मिनेटपछि खेलमा ५ मिनेट थपिएको थियो । जुन सकिन ३० सेकन्ड बाँकी रहेको अवस्थामा टोनी क्रुसले फ्रि–किकबाट उत्कृष्ट गोल गर्दै जर्मनीलाई २–१ को महत्वपूर्ण जित दिलाए ।

जितसँगै समुह ‘एफ’मा रहेको जर्मनीले ३ अंक जोडेको छ । स्विडेनले पनि समान तीन अंक जोडेको छ । समुहको शिर्ष स्थानमा रहेका मेक्सिकोले भने ६ अंक जोड्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ । अब जर्मनीले समुह चरणको अन्तिम म्याच दुई खेलमा हार व्यहोरेर बाहिरिसकेको दक्षिण कोरियासँग खेल्ने छ ।

स्विडेनले भने मेक्सिकोको सामना गर्ने छ । अन्तिम खेलमा जर्मनी र स्विडेन जसले स्पष्ट जित निकाल्ने छ, उ नै अघिल्लो चरणमा प्रवेश गर्नेछ । यदी दुवै खेलमा बराबरी भए गोल अन्तर निर्णायक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्