मलाई अझै विश्वास लागेको छैन



लन्डन, (एजेन्सी)
‘मैले केही सोच्न सकिरहेको छैन कि विश्वकपको बारे कसरी कुरा गरौ’ं। यो भनाइ हो इटालीका दिग्गज गोलकिपर जियांलुइगी बुफोनको। रुसमा हुने फुटबलको महामेला विश्वकपमा उनी खेलिरहेका छैनन्। किनभने उनको राष्ट्र इटाली छनोट हुन सकेन। यसैले बुफोनले विश्व कीर्तिमान राख्नबाट चुकेका छन्।

उनले लेखेको लेखमा यस्तो उल्लेख थियो–२००६ मा उपाधि जित्नु मेरो करिअरको सबैभन्दा ठूलो उपलब्धि थियो। मलाई इटाली फुटबलको सबैभन्दा ठूलो चाडको हिस्सा नभएको विश्वास अहिले पनि लागिरहेको छैन।

उनले बताए–१९९८ मा शुरूआतपछि मेरो छैटौ विश्वकप हुन सक्थ्यो र यो कीर्तिमान पनि हुन्छ। किनभने अहिलेसम्म कसैले यस्तो गर्न सकेका छैनन्। जर्मनीका लोथार म्याथ्युज र मेक्सिकोका एन्टोनीयो कार्बाजल दुई खेलाडीले मैले जस्तै ५ पटक विश्वकपमा भाग लिएका छन्।

इटाली प्लेअफमा स्विडेनसँग हारेपछि बिहीबारदेखि शुरू हुने विश्वकपमा छनोट हुन सकेन। चार पटकको विश्व च्याम्पियन इटाली सन् १९५८ विश्वकपपछि प्रतियोगितामा छनोट भएन। सन्जोग नै मान्नुपर्छ ६० वर्षअघिको उक्त विश्वकपको आयोजक स्विडेन नै थियो।

प्रतिक्रिया दिनुहोस्