‘तरकारीको राजधानी’ मा १५ करोडको शीतभण्डार



हेटौंडा,(नेस) ।
बेमौसमी तरकारीको राजधानी मानिएको मकवानपुरको थाहानगरमा निकै लामो प्रयासपछि शीतभण्डार निर्माणका लागि सम्झौता भएको छ ।

थाहानगर–३ मा रहेको कालाभैरव चौरमा शीतभण्डार निर्माणका लागि नगरपालिका र थाहानगर शीतभण्डार विशिष्टीकृत सहकारी संघबीच सम्झौता भएको हो । शीतभण्डार निर्माणका लागि १५ करोड ६६ लाख ७१ हजार ११५ रुपियाँमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा थाहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र थाहानगर शीतभण्डार विशिष्टीकृत सहकारी संघका संयोजक बिमलकुमार ढकाल, सञ्चालक राजेश केसी र महेश्वर सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।

शीतभण्डारका लागि कुल लागतको ६० प्रतिशत सहकारी मन्त्रालयबाट प्राप्त हुने भएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्षमा ५० लाख रुपियाँ प्राप्त भइसकेको थाहानगर प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो । निर्माण सम्पन्न गर्न लाग्ने रकममध्ये ४ करोड ४० लाख रुपियाँ थाहानगर शीतभण्डार विशिष्टीकृत सहकारी संघले व्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ । नपुग रकम नगरपालिकाले अनुदान प्रदान गर्ने सम्झौता भएको छ ।

निर्माण सम्पन्नपछि नगरपालिकाले विशिष्टीकृत सहकारी संघलाई हस्तान्तरण गर्ने तर स्वामित्व सहकारी संघको हुनेछ । शीतभण्डार दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको छ ।

शीतभण्डार निर्माण सम्झौता हुनु महत्वपूर्ण उपलब्धि भएको नगर प्रमुख लवशेर बिष्टले बताउनुभयो । छिटो निर्माण कार्य सक्ने प्रमुख बिष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्