कामभन्दा कुरा बढी



प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि मुलुकमा दीर्घकालीन विकासका काम शुरु हुने अपेक्षा गरेका जनता क्रमशः निराश बन्दै गएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको कार्यकाल पनि ४ महिना पूरा हुन लागेको छ तर अहिलेसम्म प्रधानमन्त्री ओलीबाट राष्ट्रवाद र विकासवादको कुराबाहेक कामको शुरुवात हुन सकेको छैन । मुलुकभरको भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली कामभन्दा पनि कुरा बढी गरेर जनतालाई भूलभुलैयामा राख्नमा नै व्यस्त हुनुहुन्छ । मुलुकको विकास निर्माणका काम खस्कँदो क्रममा रहेको छ, प्रधानमन्त्री ओली भने जनतालाई जोकर बनाउन अभ्यस्त रहनुभएको देखिन्छ ।

कामको शुरुवात गर्नुपर्नेमा प्रधानमन्त्रीबाट रेल, पानीजहाज, जलविद्युत्जस्ता कुरा गरेर जनतालाई आशा देखाउनेबाहेक अन्य कुनै काम हुन सकेको छैन । जनताले ठोस विकासको योजना चाहेका छन् । तर प्रधानमन्त्री मुलुकलाई स्वर्ग बनाउने अभियानमा लागेकोजस्ता हावादारी कुरालाई प्रश्रय दिन व्यस्त रहनुभएको छ । यस मुलुकको विकास भन्दा–भन्दा कम्युनिस्ट सरकारप्रति जनतामा नकारात्मक भावना बिस्तारै बढ्दै जान थालेको छ । अहिले हरेक क्षेत्रमा देखिएका स–साना समस्याको समाधान नभएर हैरान भएका जनतालाई बाँडिएको आश्वासनप्रति जनता बिस्तारै जुन जोगी आए पनि कानै चिरेका भन्ने अवस्थामा पुग्नु पक्कै राम्रो होइन । यसतर्फ प्रधानमन्त्री ओलीले ध्यान नदिए प्रधानमन्त्रीलाई गफाडीको संज्ञा जनताले नदेलान् भन्न सकिन्न । यसतर्फ प्रधानमन्त्रीको ध्यान जान जरुरी छ ।

सफल प्रधानमन्त्री बन्ने हो भने ओलीले गफाडी गफलाई बन्द गरेर विकासका कामलाई निरन्तरता दिनुपर्दछ । हरेक क्षेत्रमा गएर फरक–फरक गफ दिने प्रधानमन्त्रीले मुलुकभर फस्टाउँदो अवस्थामा रहेको अनियमितता, भ्रष्टाचार, कुशासन नियन्त्रण गर्नुपर्ने अवस्थालाई बेवास्ता गर्दै अगाडि बढ्ने हो भने मुलुक अहिलेको अवस्थाबाट झन् अधोगतिमा नजाला भन्न सकिन्न । प्रधानमन्त्रीज्यू, भाषण होइन कामको शुरुवात जनताले खोजेका छन् । भाषणमा गुलिया कुरा गर्दा जनता केही समय खुशी होलान् तर कामको शुरुवात नभएपछि विरुद्धमा मोर्चाबन्दी नहोला भन्न सकिन्न ।

प्रधानमन्त्रीले भनेजस्तो समृद्ध नेपाल र सुखी नेपालीको नारा नारामा नै सीमित हुने अवस्था सिर्जना नहोला भन्न सकिन्न । त्यसैले कामभन्दा भाषणलाई बढी प्राथमिकता दिन रमाउँदै आउनुभएका प्रधानमन्त्रीले आफूलाई सच्याउनुपर्ने समय आइसकेको छ । त्यसतर्फ समयमै ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्