अन्तरिक्षयात्री कसरी गर्छन् दिसा ?



नासा, (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा आबद्ध पेगी विट्सनले अमेरिकाका अन्तरिक्ष यात्रीमध्ये सबैभन्दा लामो समय अन्तरिक्षमा बिताएकी छिन्। विट्सनले कुल ६ सय ६५ दिन अन्तरिक्षमा बिताएर उक्त कीर्तिमान बनाएकी हुन्। महिला अन्तरिक्ष यात्रीमा सबैभन्दा लामो समय अन्तरिक्षमा बिताएको कीर्तिमान पनि आफूसँग सुरक्षित राख्न उनी सफल भएकी छिन्।

हालैमात्र एक अन्तर्वार्तामा विट्सनले अन्ततः धेरैको कौतुहलता रहेको अन्तरिक्षमा कसरी दिसा बस्नुपर्छ भन्ने जिज्ञाशाको उत्तर दिएकी छिन्। अन्तरिक्ष यात्रीले कसरी दिसालाई ‘पटी ब्याग’मा प्याक गर्छ भन्नेबारे उनले बताएकी छिन्।

अन्तरिक्ष यात्राका अनुभव साझा गर्ने क्रममा विट्सनले भनिन्– ‘रुसले बनाएको ट्वाइलेट, जसको मूल्य १९ हजार डलर छ, मा धेरै कमी कमजोरी छन्। ती कमीका कारण अन्तरिक्ष यात्रीलाई दिसा बस्न अन्त्यन्तै कठिन हुने गरेको छ। अन्तरिक्षमा पिसाब गर्न भने धेरै सजिलो छ, किनभने यो पुनःचक्रिय प्रक्रिया भएर अन्तरिक्ष यात्रीका लागि पिउने पानी बन्छ।’ ‘नम्बर २ अत्यन्तै चुनौतीपूर्ण रहेको छ।’ –विट्सनले बताएको द मिरर अखबारले उल्लेख गरेको छ।

विट्सनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका अन्तरिक्ष यात्रीले एउटा प्लेट आकारको प्वालमा दिसा गर्नुपर्ने बताइन्। त्यसलाई भ्याकुमको प्रयोगबाट प्लास्टिक ब्यागमा हाल्नुपर्ने हुन्छ। ब्याग भरिएपछि त्यसलाई फुटालेर पृथ्वीबाट आएको अन्तरिक्षको फोहोर संकलन गर्ने कार्गो अन्तरिक्ष यानमा पठाउनुपर्ने हुन्छ। सबैभन्दा नराम्रो भनेको ट्वाइलेट बिग्रेको अवस्थामा हुने उनले बताइन्। ‘यस्तो बेला अन्तरिक्ष यात्रीले रबरको पन्जा लगाई दिसा सोहोर्नुपर्ने हुन्छ।’ –उनले थपिन्।

प्रतिक्रिया दिनुहोस्