स्वदेशी उत्पादन पहिलो प्राथमिकता: प्रम



नेपाल समाचारपत्र
विराटनगर
धानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार सन्तुलन कायम गर्न उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुको विकल्प नभएको बताउनुभएको छ। मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा ओलीले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि औद्योगिकीकरण र आधुनिकीकरणको आवश्यकता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको हो।

शनिबार विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आयोजित संयुक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन गर्न सकिने क्ष्ँेत्रमा लगानी गर्न आग्रह गर्नुभयोे। त्यसका लागि सरकारले के कस्तो सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ। नेपालमै उत्पादन हुने वस्तु बजारमा पाउनै गाह्रो हुने अवस्थाबाट आक्रान्त स्थितिलाई अब बदल्नुपर्ने बेला आएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। ‘विहान उठेदेखि अन्तर्राष्ट्रिय बजारको उत्पादनमा लिप्त हुन अभ्यस्त भइसकेको समाजलाई यहीको उत्पादनको बानी बसाल्नु पर्नेछ। त्यसका लागि औद्योगिक क्षेत्रमा औद्योगिकीकरण र आधुनिकीकरणको आवश्यकता रहेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।
पाकिस्तानबाट आयात गरिएको चिनीमा लगाइएको करका विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘हामी त अझै पनि सस्तै चिनी उपभोग गर्दै आइरहेका छांै। पाकिस्तानमा त अझै हामी कहाँ भन्दा पनि बढी मूल्य तिर्नुपर्ने अवस्था रहेकोछ।’

उद्योग व्यापारलाई प्रवद्र्धन गर्नका लागि उद्योगको उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले चिनीमा जानेरै कर बढाएको प्रतिक्रिया दिनुभयो। करकै कारण कसैलाई घाटा परेको छैन। तर जति नाफा हुनुपर्ने त्यो भने हुन सकेन उहाँले स्वीकार गर्नुभयो। जुन मार्जिन अपेक्षा गरिएको थियो त्यो भने पूरा नहुने भयो। गत मंसिरदेखि नेपाली व्यवसायीले पाकिस्तानबाट चिनियाँ आयात गरेका थिए। उनीको पहिलो आयातमै सरकारले भन्सार कर निर्धारितभन्दा दोब्बर ३० प्रतिशत पुराएको थियो। जसका कारण चिनी व्यापारीले विरोध गर्दै आएका थिए।
सरकारको बचाउ गर्ने क्रममा उहाँले कर बढाउनुको कारण उपभोक्ता र स्वदेशी मिललाई बलियो बनाउनु आफ्नो ध्येय रहेको स्पष्ट पार्नुभयो। यसबाट नगदेबाली उसु किसान र मिल दुवैको समस्या समाधान हुने सरकारको भनाइ छ।

लोडसेडिङ अन्त्य भएको छैन
लोडसेडिङको विषयमा प्रधानमन्त्री ओलीले भन्नुभयो–‘हाल सामान्य लोडसेडिङ अन्त्य गरेका हांै। यसलाई पूर्णरुपमा मुक्त गर्न केही समय लाग्छ। अझ भनौं पूर्णरुपमा लोडसेडिङ अन्त्य गर्न आउँदो मंसिरदेखि वैशाख महिनासम्मको समय लाग्नेछ।”
यसैबीचमा ४ सय मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूरा हुने उहाँको भनाइ थियो। सबै स्थानको लागि लोडसेडिङ अन्त्य गर्न नेपाली जनताले केही समय धर्य गर्नुपर्ने उहाँले बताउनुभयो।

ठेकेदारप्रति कडा
सरकारले पछिल्लो समय ठेकेदारप्रति अपनाउँदै आएको कडा रुखका विषयमा प्रधानमन्त्री ओलीले यहाँ बेथितिले डेरा जमाएको उल्लेख गर्नुभयो। कामको ठेक्का लिने तर काम नगर्ने होल्ड गर्ने जस्ता प्रवृत्ति अब चल्दैन, प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो। क्षमताभन्दा बढी निर्माणको ठेक्का लिएर काम नगरी होल्ड गर्ने प्रवृत्तिले मुलुकनै पछि धकेलिएको प्रधानमन्त्री ओलीले भन्नुभयो–‘क्षमताअनुसारको ठेक्का लिनुपर्छ र समयमै गुणस्तर कार्य सम्पन्न गर्नुपर्छ।’

उहाँले देशभित्र सरकारले नीतिगत व्यवस्था, आर्थिक पक्षमा कर प्रणालीमा गर्नुपर्ने कार्य र अर्को पाटो मित्र राष्ट्रसंँगको व्यापारमा समस्या रहेको उहाँको भनाइ थियो। भारतसंँगको व्यापार नकारात्मक अवस्थामा रहेको बताएका प्रधानमन्त्री ओलीले त्यसलाई सुधार गर्नका लागि पहल भइरहेको उल्लेख गर्नुभयो। अघिल्लो भारत भ्रमणका क्रममा पनि सरकारले जुट, एन्टी डम्पिङका विषयमा कुरा राखेको स्पस्ट पारे।

प्रतिक्रिया दिनुहोस्