कालीमाटी र बालाजुका व्यापारीको वर्गीकरण, ९९ व्यापारी खतराको सूचीमा



नेपाल समाचारपत्र
काठमाडौं
कालीमाटी र बालाजुका तरकारी बजारभित्रका पसललाई वर्गीकरण गरिएको छ। उनीले ऐन नियम तथा सम्झौताको पालना गरेको नगरेको विषयमा अनुमगन गरी सोही अनुसार वर्गीकरण गरिएको हो।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले लामो समयदेखि गरेको छानविन आधारमा कालिमाटी र बालाजुका फलफूल, तरकारी र माछा व्यापारीलाई चार भागमा वर्गीकरण गरिएको छ।

ती दुईवटा बजारभित्र व्यापार व्यवसाय सञ्चालन गरिरहेका व्यापारीलाई चार भागमा वर्गीकरण गरिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तेजबहादुर सुवेदी, कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल, किसानका प्रतिनिधि र व्यवसायी गरी ११ सदस्यीय बोर्ड बैठकले व्यापारीले गरेको कार्यसम्पादन र दैनिक अनुगमन गरी उक्त वर्गीकरण गरिएको हो। जसअन्तर्गत व्यापारीहरुलाई रातो, निलो, पहेलो र सेतो रङमा छुट्याइएको छ।

रातो रङ ९९ जनालाई
वर्गीकरणअनुसार रातो रङमा परेका व्यापारी सरकारले तोकेको ऐन, नियम, कानुन र सम्झौताको पालना नगर्नेमा पर्दछन्। दैनिक रूपमा बजार क्षेत्रमा उपस्थित नहुने, कारोबारमा संलग्न नहुने, अन्य व्यक्तिलाई कारोबार गर्न कमिसन खाएर सटर भाडामा दिने व्यापारीलाई रातो रङमा राखिएको छ। यस्ता व्यापारीले बजार अनुगमन र नवीकरणको समयमा मात्र उपस्थित भई सम्बन्धित निकायको आँखामा छारो हाल्दै आएका थिए।

रातो रङमा परेका व्यापारी खतराको सूचीमा पहिलो नम्बरमा छन्। खतराको संकेत स्वरूप रातोमा पर्ने व्यापारी ९९ जना रहेका छन्। यस सूचीमा ४५ जना थोक बिक्रेता, ५ वटा सहकारी समूह, ६ जना माछा व्यापारी, टहराका व्यापारी ७ जना, खुद्रा व्यापारी २१ जना, भण्डारका १४ जना, फलफूल बजारका २ जना र बालाजुका खुद्रा व्यापारी ९ जना रहेका छन्। यो समूहमा परेका व्यापारीलाई उनीहरुले पाएको बजार सञ्चालन इजाजत पत्र खारेज खारेज गरिनेछ। शुक्रबार नै सबै व्यापारीलाई उनीहरुसँग गरिएको सम्झौता खारेज नगर्ने कारणसहितको स्पष्टीकरण बुझाउन सात दिनको समय दिइएको छ। चित्त नबुझे सम्झौता रद्द गरी गोला प्रथाद्वारा अरूलाई दिने तयारी रहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

निलो रङ १ सय ३१ जनालाई
रातोभन्दा केही कम खतराको सूचीमा रहेका व्यापारीलाई निलो रङमा वर्गीकरण गरिएको छ। यस वर्गमा १ सय ३१ जना व्यापारी परेका छन्। कारोबारमा कहिलेकाँही संलग्न भए पनि स्वयम्ले निरन्तर कारोबार नगरी अन्यबाट कारोबार गराउने, बजार क्षेत्रमा नियमित उपस्थित हुँदा पनि कारोबारमा संलग्नता नदेखाउने, आफन्तबाट कारोबार सञ्चालन गराउने र सम्झौता विपरितका वस्तुको कारोबार गर्ने व्यापारीलाई निलो रङमा राखिएकोे छ। यस्ता व्यापारीलाई समितिले उनीहरु नियमाअनुसार बसेको नबसेको र व्यवसाय गरेको नगरेको प्रमाणसहित सात दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ।

पहेलो रङ – २ सय ९ जनालाई
आफू पनि व्यापार गर्ने र अन्य व्यक्तिबाट समेत व्यापार तथा कारोबार गराउने व्यापारीलाई पहेलो रङको वर्गमा पारिएको छ। यसरी तुलनात्मक रूपमा कम नियम उल्लंघन गर्ने पहेँलो समूहमा परेका २ सय ९ जना व्यापारीलाई आगामी दिनमा गल्ती नगर्ने गरी सचेत गराइएको समितिले जनाएको छ।

सेतो रङ –१ सय ५९ जनालाई
खतरामुक्त अर्थात पूर्ण रूपमा नियम पालना गर्ने व्यापारी लाई सेतो रङमा वर्गीकरण गरिएको छ। कालिमाटी र बालाजु दुवै बजारमा गरेर यस्ता व्यापारी १ सय ५९ जना मात्र देखिएका छन्। बजार विकास तथा सञ्चालन नियमावली २०६० र सम्झौताअनुसार कार्य गर्नेहरु यो समूहमा राखिएका छन्।

गत सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका कर्मचारी लगायतको टोलीले गरेको छड्के अनुगमनका क्रममा कालीमाटी फलफुल तथा तरकारी बजारका व्यापारीले एउटा स्टलबाट २ लाख रुपियाँसम्म अतिरिक्त भाडा असुल्ने गरेको भेटिएको थियो। सोही अनुगमनका क्रममा एउटा स्टलमा ३ वटासम्म पसल सञ्चालन गरेको समेत भेटिएको थियो। व्यापारीले बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको क्षेत्रफल हेरेर ८ देखि १० हजार रुपियाँ मात्र भाडा स्वरूप समितिलाई बुझाउने र बिचौलियाले २ लाखसम्म लिने गरेको भेटिएको थियो। अनुगमनपछि व्यापारीको चलखेललाई अन्त्य गरी किसान र उपभोक्ताको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने मन्त्री खनालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्