कक्षाकार्यले जन्माएको ‘विजनेस आइडिया’



काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय कम्पनी नाइकले खेल सामग्री उत्पादनका क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भएको छ। उक्त कम्पनीले हाल विश्वका उत्कृष्ट खेलाडीले प्रयोग गर्ने जुत्ता, जर्सी, ट्रयाकलगायत अन्य खेल सामग्री उत्पादन गर्दै आएको छ। तर, उक्त कम्पनी स्थापना पछाडिको कारण भने निकै चाखलाग्दो छ।

नाइक कम्पनी स्थापनाको परिकल्पना एक पत्रकारिताका विद्यार्थीले आफ्नो कक्षाकार्य गर्दै गर्दा तयार पारेका थिए भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। फिल नाइटले शैक्ष्ँिक प्रयोजनका लागि तयार पारेको उक्त परिकल्पना खेलाडीका लागि सजिलो र उच्च गुणस्तरको जुत्तामात्र उत्पादन गर्ने विषयमा थियो। तर, अहिले उक्त कम्पनीले खेलसँग सम्बन्धित सबै सामग्रीको उत्पादन गर्दै आएको छ।

सन् १९३८ फेबु्रअरी २४ मा जन्मिएका फिल नाइटको वास्तविक नाम फिलिप ह्याम्पसन नाइट हो। नाइक इन्कर्पोरेसनका सहसंस्थापक तथा हालका अध्यक्षसमेत रहेका ८० वर्षिय नाइटले एक सफल व्यापारी तथा समाजसेवी रूपमा आफ्नो परिचय बनाएका छन्।

नाइट कुनै खेलका खेलाडी, प्रशिक्षक वा टीमका मालिक होइनन्। तर, पनि उनको नाम खेल क्षेत्रसँगै जोडिएर आउँछ। किनकि उनी नाइक कम्पनीका मालिक हुन्। उनलाई दौडमा रुची थियो। उनी युनिभर्सिटी अफ ओरिगनमा हुँदा मध्यम गतिका धावकका रूपमा गनिन्थे। तर, उनले कुनै पनि प्रतिस्पर्धामा भाग लिएनन् र व्यावसायिक खेल खेलेनन्।

नाइटले आफ्नो कप्पनीले उत्पादन गरेको जुत्ता विश्वका उत्कृष्ट खेलाडीले प्रयोग गरुन भन्ने चाहन्थे। जुन सपना सन् १९७२ को ओलम्पिकमा साकार भयो।

 

उनले स्कुल शिक्षा पोर्टल्यान्डको क्लेभल्यान्ड हाईस्कुलबाट लिएका हुन् भने युनिभर्सिटी अफ् ओरेगनबाट स्नातक सम्मको पढाई पूरा गरेका छन्। उनका बुबा एक कानुन व्यवसायी थिए र एउटा स्थानीय पत्रिकाका सम्पादक थिए। नाइटले पनि आफ्नो बुबाको पेशालाई निरन्तरता दिन पत्रकारिता विषय अध्ययन गर्न थाले। उनले पत्रकारिता विषयमा स्नातक गरेका छन्। सन् १९५९ मा स्नातक तहको पढाई सकेपछि उनले एक वर्ष सैनिक सेवा गरे। त्यसपछि सन् १९६१ मा स्टान्डफोर्ड युनिभर्सिटी, स्कुल अफ विजनेस स्टडिजमा स्नातकोत्तर तहका लागि भर्ना भए। स्टानफोर्ड ग्राजुयट स्कुल अफ् बिजनेस स्टडिजमा अध्ययन गर्दै गर्दा उनलाई शैक्षिक प्रयोजनका लागि कुनै एसाईनमेन्ट दिइएको थियो। उक्त कार्ययोजना बनाउँदै गर्दा उनलाई एथ्लेटिक्समा प्रयोग हुने जुत्ता (स्पोर्टस् सुज) को विचार मनमा आएको थियो।

उक्त विचारलाई मुर्त रूप दिन उनले आफ्ना साथी बिल बोअरमेनसँग सहकार्य गरेर जापानमा बनेका स्पोर्टस् सुज अमेरिकामा बेच्न थाले। उनले सन् १९६२ मा जापान भ्रमणको क्रममा टाइगर ब्रान्डका उच्च गुणस्तरीय तर सस्तो मुल्यका जुत्ताका बारेमा जान्ने मौका पाए। उक्त ब्रान्डका जुत्ता प्रायःजसो धावकले लगाउने गर्दथे। भ्रमणकै क्रममा उनले उक्त ब्रान्डका जुत्ता उत्पादन गर्ने कम्पनी ओनित्सुकासँग अमेरिकी बजारमा लैजाने गरी सम्झौता गरे। अमेरिका फर्किए पनि उनले उनले सन् १९६४ मा ब्लु रिबन स्पोर्टस् नामक संस्था खोलेर जापानबाट जुत्ता आयात गरेर अमेरिकामा बेच्न थाले। कडा परिश्रम र नयाँ सोचले उनलाई सफल बनायो। केही वर्षभित्रै उनले सान्टा मोरिका, क्यालिफोर्निया, र ओरेगन शहरमा आफ्नो खुद्रा पसलको व्यापार बिस्तार गरे। तर, नाइट र बोअरमेनले ओनित्साका कम्पनीसँग गरेको सम्झौता सन् १९७१ का टुट्यो। जापानबाट सामान आयात गरेर व्यापार गरिरहेको उनीहरुको कम्पनी ब्लु रिबन स्पोर्टस् डुब्ने अवस्थामा पुग्यो। आफ्नो कम्पनीले बेचिरहेको सामान पाउन छोडेपछि उनीहरुले आफैं सामान उत्पादन गर्ने निर्णय गरे। जसको नाम राखियो ‘नाइक’ अर्थात् ग्रीक भाषामा ‘विजय की देवी’।

नाइटले आफ्नो कप्पनीले उत्पादन गरेको जुत्ता विश्वका उत्कृष्ट खेलाडीले प्रयोग गरुन भन्ने चाहन्थे। जुन सपना सन् १९७२ को ओलम्पिकमा साकार भयो। उक्त ओलम्पिक खेलमा विभिन्न खेल सामग्री उपलब्ध गराउने जिम्मा नाइकले पायो। ५ सय अमेरिकी डलरबाट शुरू भएको उक्त व्यवसाय कम्पनी स्थापनाको ५५ वर्षपछि उक्त कम्पनीको सम्पत्ति ८७ अर्ब अमेरिकी डलर रहेको छ। अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले तयार पारेको विश्वका अर्बपतिको सूचीमा नाइट २८औं स्थानमा रहेका छन। फोब्र्सका अनुसार उनको सम्पत्ति ३३ दशमलव ६ अर्ब अर्ब अमेरिकी डलर बराबर रहेको छ। विश्वका ५२ वटा मुलुकमा नाइक कम्पनीको उत्पादन र बजार विस्तार भएको छ भने त्यसबाट ७५ हजार भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्।
(अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा )

 

प्रतिक्रिया दिनुहोस्