अनमोललाई बलिउडको टिकट, नेपाली र हिन्दी भाषामा बन्ने फिल्मका निर्देशक भुवन पनि



रश्मी थापा
नायक अनमोल केसीले बलिउड फिल्म नगरीका लागि टिकट पाएका छन्। नेपाल र भारतको संयुक्त लगानीमा नेपाली र हिन्दी भाषामा बन्न लागेको फिल्ममा नायकका रूपमा काम गर्ने पक्का भएसँगै अनमोलले बलिउड प्रवेशको टिकट पाएका हुन्।

नाम पक्का भइनसकेको फिल्मको निर्देशन अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी र भारतका रत्नाकार कुमारले संयुक्तरूपमा गर्नेछन् भने मनोज नारायणको कथा रहनेछ। अनमोलले भारतको चर्चित निर्माता कम्पनी वल्र्डवाइड रेकर्डले निर्माण गर्ने फिल्मका लागि सम्झौता गरेका छन्। उक्त कम्पनी भारतको चर्चित म्युजिक कम्पनी पनि हो। ‘कम्पनीसँग एग्रिमेन्ट भइसक्यो। अब हामी फिल्मका लागि केही दिनमै एग्रिमेन्ट गर्नेछौं’, अनमोलले बुधबार नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘अरू सबै कुरा फिक्स भइसकेको छैन।’

भुवन केसीले नेपाल र भारतको संयुक्त लगानीमा बन्न लागेको उक्त फिल्म नेपाली र भारतीय दुवै भाषामा बन्ने र गीत पनि दुवै भाषामा तयार हुने बताए। ‘फिल्म नेपाली र हिन्दी दुवै भाषामा बन्नेछ। गीत पनि २ भाषामै रेकर्ड हुनेछ। नेपाली भाषाको गीतमा नेपाली र हिन्दी भाषाको गीत उताकै गायकगायिकाले गाउनेछन्’ –भुवनले भने। फागुन १५ गते फ्लोरमा जाने फिल्मको सुटिङ नेपाल र मरिसस तथा केही मुम्बईमा हुने भुवनले बताए। उनका अनुसार यो फिल्ममा नेपालसँगै बलिउडका कलाकारसमेत हुनेछन्। १ नायिका बलिउडकै हुनेछिन्।


नेपाली सुपरस्टार अनमोल केसीको बलिउडमा इन्ट्री शीर्षकमा पुणेबाट प्रकाशित एक भारतीय पत्रिकामा प्रकाशित समाचार अनमोलले आफ्नो फेसबुकमा सेयर गर्दै दर्शकलाई बलिउड डेब्युको संकेत दिएका छन्। बलिउडका विभिन्न गतिविधि तथा कलाकारका समाचारसमेत छापिएको सो पत्रिकाको पृष्ठ सेयर गर्दै अनमोलले लेखेका छन्– ‘अन माइ वे : टिकेट टु बलिउड।’

हाल होम प्रोजेक्टको फिल्म क्याप्टेनको सुटिङमा व्यस्त अनमोलले केही दिनअघि मात्र सुनिलकुमार थापा र झरना थापा दम्पतीको फिल्म ए मेरो हजुर–३ र सुदीप खड्काको निर्माण र मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ब्याचलर बन्टीमा साइन गरेका थिए। क्याप्टेन भदौ २९ अथवा असोज ५ गते रिलिज हुने भुवनले बताएका छन् भने ए मेरो हजुर भदौमा सुटिङ भए पनि आगामी वैशाख १ मा मात्र रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्