दोलखामा शिवानी



दोलखा, (नेस)। नेपालमा पहिलो फिल्म सिटी निर्माण हुने चर्चा कमाएको दोलखामा अहिले फिल्म छायांकन कार्यसमेत बढेको छ। केही समयअघिसम्म मुस्किलले २÷३ वर्षमा एउटा फिल्म छायांकन हुने गरेको दोलखामा अहिले वर्षमै २÷३ वटा फिल्म छायांकन हुन थालेका छन्।

पछिल्लो समय दोलखाको विभिन्न स्थानमा शिवानी नामक फिल्म छायांकन गरिएको छ। झण्डै ७०÷८० लाखको बजेटमा निर्माणाधीन शिवानीको ९० प्रतिशत छायांकन दोलखाको विभिन्न ठाउँमा गरिने निर्देशक यूपी खड्काले बताए। यातायात दुर्घटनामा घाइते भएकालाई कतिपय चालकले नियतवश मार्ने गरेको कथावस्तु समेटिएको शिवानीको छायांकन दोलखाको सदरमुकाम चरिकोट, धार्मिक पर्यटकीय केन्द्र कालिञ्चोक, दोलखा भीमेश्वर, तामाकोसी, खरीढुंगा, सिमपानी, शैलुङ र काठमाडौंको विभिन्न स्थानमा हुने निर्देशक खड्काले बताए।

फिल्मको मुख्य नायिका पूर्णिमा लामाले शिवानी सामाजिक कथावस्तुमा हुने र यसले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको बताइन्। सुरज खड्काको ब्यानरमा निर्माणाधीन फिल्मको निर्माता ग्याल्वो पाख्रिन, महेश शाक्य र दिनेशकुमार राय रहेका छन् भने लेखक निर्देशक यूपी खड्का रहेका छन्। महेन्द्र थापाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफीमा निर्माण हुन लागेको शिवानीमा नायक उत्तम विष्ट, नायिका पूर्णिमा लामा र सहनायिका दीपा शिवाकोटी रहेकी छन्। शिवानीको मुख्य भूमिकामा बाल कलाकार शिवानी खड्काले अभिनय गरेकी छन्। फिल्ममा निर्माता ग्याल्वो पाख्रिनले प्रहरी प्रमुखको भूमिका निर्वाह गरेका छन्।

दोलखामा प्राकृतिक एवं धार्मिक पर्यटकीयस्थल रहेको र काठमाडौंबाट नजिकसमेत भएकाले फिल्मको छायांकनका लागि दोलखाको विभिन्न स्थानलाई रोजिएको निर्देशक यूपी खड्काको भनाइ छ। फिल्मको प्रदर्शन आगामी असार अन्तिमसम्ममा सदरमुकाम चरिकोटबाटै गरिने निर्माता पाख्रिनले बताए।

प्रतिक्रिया दिनुहोस्