म्याच फिक्सिङमा ६ जना पक्राउ



काठमाडौं, (नेस)
तीन वर्षअघि मात्रै राष्ट्रिय फुटबल टोलीबाट खेल्दा म्याच फिक्सिङ गरेको आरोपमा पक्रिएका अञ्जन केसी फेरि एकपटक यस्तै म्याच फिक्सिङमै पक्राउमा परेका छन्।
थ्री स्टारका प्रशिक्षकसमेत रहिसकेका केसीविरुद्धको अघिल्लो मुुुुद्दा विशेष अदालतमा विचाराधीन छ। यसै आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) र च्याम्पियन्स लिग फाइनलको क्रममा सट्टेबाज अखडा सञ्चालन गरेको आरोपमा मंगलबार केसीसहित अन्य ६ जना पक्राउ परेका हन्। गौरव तिवारी नाइके रहेको भनिएको गिरोहमा केसीसहित दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ छन्। उनीहरूलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार सट्टेबाजीमा संलग्न ६ जनाको छुट्टाछुट्टै कार्यक्षेत्र थियो। सबैको संयोजन भने तिवारीले गर्ने गरेको बताइएको छ। तिवारीले बेलायतबाट फरक फरक समयमा २४ वटा अनलाइन एकाउन्ट खोलेर सट्टेबाजीको कारोबार चलाउँथे। यसमध्ये एउटा एकाउन्ट केसीको जिम्मामा रहेको बताइएको छ। महानगरीय प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले तिवारीलाई पक्राउ गरेपछि अन्य ५ जना पक्राउमा परेको बताएका छन्। प्रहरीले ६ जनाविरुद्ध ठगी मुद्दा दायर गरी जिल्ला अदालतमा म्याद थपका लागि पठाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्