‘नत्र कांग्रेस साइनबोर्डमै सीमित रहन्छ’



झपटबहादुर रावल, सांसद, नेपाल कम्युनिस्ट पार्टी

झपटबहादुर रावल कैलाली –२ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका सांसद् हुनुहुन्छ । पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँले सरकारले गरिरहेको काम जनताको चाहनाबमोजिम भएकाले पूरै समर्थन पाएको बताउनुभएको छ । लामो समयदेखि राजनीतिमा सक्रिय रावल विद्यार्थी राजनीतिबाट उदाउनुभएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति जनताको समर्थन घट्दै गएको बताउने रावलले निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गर्न लागिरहेको जनाउनुभयो । ‘हिजो निर्वाचनमा
जाँदा जे गर्छु भनेको थिएँ त्यसलाई पूरा गर्नु प्रमुख प्राथमिकता हो, विकासका धेरै कुरा गरेका छौं त्यसैले पनि सरकारले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि प्रशस्तै बजेट छुट्याउनुपर्छ भन्ने तर्क गर्नुहुन्छ । उहाँसँग गरिएको समसामयिक कुराकानी:

पार्टी एकतापछिको अवस्था कस्तो छ ?
पार्टी एकता वास्तवमै उदाहरणीय र ऐतिहासिक कदम हो । हामीले निर्वाचनमा जाँदा जे काम गर्छौं भनेका थियौं यो पनि त्यसमध्येको मुख्य काम हो । ढिलो वा छिटो एकता भयो भन्नेतिर जानुभन्दा पनि एकता भयो यो स्वागतयोग्य छ । अब पार्टी ठूलो भएको छ, जनताको भरपूर समर्थन भएकाले अब सरकार दायाँबायाँ नगरी अघि बढ्ने छ । विकास र समृद्विको नारालाई सार्थक बनाउने हाम्रो योजनामा एउटा खुड्किलो थपिएको छ । हिजोका दिनमा विपक्षी पार्टीका साथीहरुले एकता हुँदैन, उनीहरुले जनतालाई ढाँटे भनेर उडाएका थिए तर आज उनीहरु चुपचाप छन् । जनताको चाहनाले नै पार्टी एकता भएको हो, कुनै धाकधम्की दिन र कसैलाई तर्साउन नभई विकास र प्रगतिमा अघि बढ्ने योजनामा सबैको समर्थनको खाँचो छ । जनवर्गीय संगठन व्यवस्थापनका साथै अन्य केही चुनौती छन्, पार्टीले यो दिशामा ध्यान दिनुपर्छ । जनताले धेरै आशा गरेकाले यो पवित्र उद्देश्यमा कसैले पनि भाँजो हाल्ने काम गर्नुहुँदैन ।

एकता हुँदा केही नेता तथा कार्यकर्ता रिसाएका छन् नि ?
महान काम गर्दा कोही नरिसाउला नि भन्ने पनि हुँदैन तर कसैमा सामान्य चिन्ता र निराशा छ भने पनि राम्रो काम भयो भनेर त्यसलाई बाहिर ल्याएर छताछुल्ल पार्ने काम गर्नु कसैका लागि हितकर हुँदैन । पहिले २ जना अध्यक्ष मात्र राख्ने भनिएको थियो पछि सचिवालय पनि बनाउँदा सबैको नाम नसमेटिएको गुनासो आएको थियो तर अहिले यो विषय सकिएको छ । योग्यता, क्षमता भएकालाई पार्टीले सम्मानका साथ जिम्मेवारी दिनुपर्छ । नेतृत्वको वरिपरि घुम्दैमा र रमाउँदैमा मात्र अवसर पाइने रहेछ भन्ने गलत संस्कारको अन्त्य गर्नुपर्ने बेला आएको छ । आज यो एकतामा कोही कतै छुट्नुभयो होला भोलि अन्य अवसर आउँछन् भनेर सम्झनुपर्छ ।

जनताका चाहना धेरै छन् तर सरकारले केही गर्न सकेको छैन नि ?
जनताका चाहना धेरै छन् यो कुरा सत्य हो, ती सबै चाहनालाई सम्वोधन गर्नुको हाम्रो कर्तव्य हो । तर एकैछिनमा जादुको शैलीमा भइहाल्ने भन्ने हुँदैन । सरकारले केही काम नै गरेको छैन भन्ने तपाईंको भनाइमा म सहमत छैन । सरकारको नीति तथा कार्यक्रमले जनताका केही चाहना समेटेको छ । यो कार्यक्रममा छुटेका कुरालाई बजेटमा समेट्छ भन्ने आशा गरेका छौं ।

कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा विरोध गर्नुको कारण के होला ?
कांग्रेसलाई नेपाल कम्युनिस्ट पार्टी ठूलो भएकामा चिन्ता छ । कांग्रेस बिग्रिएर कम्युनिस्ट राम्रो हुनुपर्छ भन्ने होइन तर कांग्रेसले अहिलेसम्म केही काम नगरेकाले नै मतदाताले विकल्पका रुपमा कम्युनिस्ट रोजेका हुन् । २०४७ सालपछि पटकपटक सरकारको नेतृत्व गर्ने कांग्रेसले जनताको मन जितेको भए मत पाउँथ्यो जनताले नपत्याएर यो हालत भयो । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले अघि सारेका योजना र कार्यक्रमलाई पनि कांग्रेसले विरोध गरेकै हो तर त्यो ‘पपुलर’ भयो जनताले पत्याए, यसपालि पनि यस्तै हो । विकास, प्रगति र देशको उन्नति भएको कांग्रेसले देख्न चाहेको छैन, जहाँ पनि भाँजो हालेर भाँड्ने काम गरेको छ । आफू पनि नगर्ने र अरुले गरेको काम पनि राम्रो हो भन्न नसक्ने यो प्रवृत्ति पुरानै हो त्यसैले विपक्षीलाई धेरै टिकाटिप्पणी गर्ने मन छैन । कांग्रेस यसरी किन अत्तालिएको हो मैले बुझेको छैन । ‘सुखी नेपाली, समृद्व नेपाल’ को चाहनालाई पूरा गर्न सबैको समर्थन चाहिएको छ ।कांग्रेस अझै सुध्रिएन भने साइन बोर्डमा मात्रै सीमित रहनेछ ।

आगामी बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा १० करोड रुपियाँ छुट्याइनुपर्छ भनेर लाग्नुभएको छ त्यो केका लागि, अनियमितता गर्ने सांसद्लाई कारबाही हुँदैन ?
मैले पनि केही गुनासाहरु सुनेको हुँ । कसैले पनि अनियमितता गर्ने वा अनावश्यक ठाउँमा लगानी गर्ने काम गरेको छ भने त्यसको खोजी गर्नुपर्छ तर सांसद्लाई विकासका लागि बजेट नै नदिने भन्ने कुरा पुरातन मानसिकता र सरासर गलत सोच हो । हिजो हामीले निर्वाचनमा भोट माग्न जाँदा नीति, नियम र कानुन बनाउँछौं भन्दा पनि यो र त्यो विकास गर्छौं भनेका छौं, जनतासँग प्रत्यय सम्बन्ध राख्ने विकासका योजना कटौती गर्नु र लगानीको वातावरण बनाउदिन भन्ला सरकारले भन्ने लाग्दैन । प्रधानमन्त्री पनि हाम्रो मागको पक्षमा हुनुहुन्छ, विकास नहोस् भन्ने उहाँको चाहना छैन । सानातिना योजनाहरु पूरा गरेको खण्डमा सरकारले ठूला योजना मात्र हेर्न सजिलो हुन्छ जसले गर्दा विकासको ढोका खोल्न सकिन्छ ।

तपाईंले निर्वाचनमा भोट माग्दा के भन्नुभएको थियो, कति काम गर्नुभयो ?
भर्खरै मात्र काम भइरहेको छ तर जनतालाई नहुने काम गर्छु भनेर केवल मीठा आश्वासन बाँडेको छैन। म दिनरात जनताकै काममा छु र सधैं उहाँहरुकै लागि चिन्तित हुन्छु, केही सुरुआत गरेको छु । जनताको मतको सम्मान गर्नेछु, म शासक नभई सेवकको भूमिकामा रहनेछु ।

प्रतिक्रिया दिनुहोस्