मेलम्चीको काम कछुवा गतिमा



सुरेश तामाङ, काठमाडौं
दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ। तर काम भने कछुवाको गतिमा अगाडि बढेको छ।

अघिल्लो वर्षको दशैंमा उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस वर्षको दशैंसम्म आइपुगेको छ। तर यस वर्षको दशैंसम्ममा पानी खुवाउने भाका पूरा हुने नहुने अझै पनि निश्चित छैन।

‘ठेकेदार कम्पनीले काम त गरेको छ तर त्यति गति लिन सकेको छैन।’ –मेलम्ची खानेपानी आयोजनाका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए। सुरुङ खनेर फिनिसिङको काम गरिरहेको इटालियन कम्पनी सीएमसी दि रिभेनाले विभिन्न बहाना बनाएर पटकपटक गरी पछिल्लो चरणमा पनि काम ठप्प पार्नेदेखि काममा ढिलाइ गरिरहेको छ।

भूकम्प र नाकाबन्दीका बेला काम गर्न नपाएको भन्दै विलम्ब शुल्क माग्ने, निर्माण सामग्री ढुवानी गर्न रकम अभाव देखाउँदै काम ठप्प पार्ने काम ठेकेदार कम्पनीले गरेको छ।

पछिल्लो चरणमा ठेकेदार कम्पनीले सिन्धु–ग्याल्थुम खण्डको ब्रेक थ्रु भएपछि झन्डै १५ दिनसम्म रकमको अभाव देखाउँदै निर्माण सामग्री खरिद र ढुवानी गर्न नसकेको भन्दै काम रोकेको थियो।

‘त्यसयता खानेपानी मन्त्रालय र आयोजनाको संयुक्त पहलमा काम त भइरहेको छ तर काम सन्तोषजनक देखिएको छैन।’ –आयोजनाका एक उच्च अधिकारी बताउँछन्।

सिन्धु, ग्याल्थुम र अम्बाथान अडिटबाट एकसाथ सुरुङको सतह ढलान गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। अहिले दैनिक ६० मिटरको हारहारीमा ढलान गरिरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताउनुभयो। उहाँले भन्नुभयो– ‘ठेकेदार कम्पनीले दैनिक ६० मिटरको हाराहारीमा ढलाइको काम गरिरहेको छ। दैनिक यति गरेर पुग्दैन। हामीले यसलाई अझै बढाउनूस् भनेका छौं।’

यता खानेपानी मन्त्री विना मगरले पनि प्रत्येक कार्यक्रममा जाँदा मेलम्ची यस वर्षको दशैंमा आउने दाबी गर्दै हिँड्नुभएको छ। तर ठेकेदार कम्पनीले भने विभिन्न बहाना बनाएर काम अलमल गर्ने गर्दा दाबी गरेको समयमा पानी नआउला कि भन्ने आशंकाले सबैलाई सताएको छ।

दशैंअगावै सम्पूर्ण काम सम्पन्न गरेर उपत्यकाबासीलाई पानी खुवाउने भने पनि अहिलेसम्म ठेकेदार पक्षबाट कार्यतालिका दिएको छैन। तुरुन्तै कार्यतालिका पेस गर्न ठेकेदार पक्षलाई आग्रह गरेको खानेपानी मन्त्रालयका उपसचिव तोलराज उपाध्यायले बताउनुभयो।

‘हामीले केही समस्या नहोस्, दशैं अगावै खानेपानी ल्याउन कुन–कुन दिन कति कति र कसरी काम गर्छौं भन्ने खालको कार्यातालिका ठेकेदार पक्षसँग मागेका छौं’, उहाँले भन्नुभयो– ‘उहाँहरूले पेस गर्दै समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’

पटकपटक ठेकेदार पक्षले काम रोक्ने, काममा ढिलासुस्ती देखाएपछि मन्त्री मगर आफैंले विशेषरूपमा लिएर ठेकेदार पक्षलाई बोलाई प्राविधिक समस्या भए सहकार्य गर्न तयार रहेकाले काममा ढिलाइ नगर्न निर्देशन दिनुभएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘मन्त्रीज्यू आफै लागेर ठेकेदार पक्षलाई प्राविधिकरूपमा समस्या भए सामूहिक रूपमा समस्याको समाधान गर्ने तर विभिन्न बहाना बनाएर काम रोक्ने र काममा ढिलासुस्ती गर्न नहुनेतर्फ ध्यानाकर्षण गराउनुभएको छ।’

प्रतिक्रिया दिनुहोस्