कामना फिल्म अवार्डस्–२०७५ को आवेदन खुला



नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाले नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा सीजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको कामना फिल्म अवार्डस् २०७५ मा सहभागी हुनका लागि आवेदन खुला गरेको छ।

कामनाको प्रकाशन संस्था कामना न्युज पब्लिकेसन्स्ले चौथो संस्करणको कामना फिल्म अवार्डस्–२०७५ का लागि आवेदन खुला गरेको हो। कामना फिल्म अवार्डस्–२०७५ मा २०७४ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका फिल्मले सहभागिता जनाउन सक्नेछन्। आवेदन निःशुल्करूपमा भर्न पाइने व्यवस्था गरिएको छ।


कामनाको आयोजना तथा सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने लक्स कामना फिल्म अवार्डस्मा २०७३ सालबाट बहुर्राष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ।

सम्मान चलचित्रको: उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली फिल्म क्षेत्रको महाउत्सवका रूपमा हुँदै आएको अवार्ड समारोहमा फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था तथा विज्ञहरूसँगको बृहत् छलफलपछि हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछ।

त्यसै गरी फिल्म क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली फिल्म क्षेत्रको उन्नयनमा योगदान पुर्याउने एक–एक जनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिँदै आएको छ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको छ। संगीत, फेसन र नाट्य विधामा सीजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिँदै आएको छ।

लक्सको सहभागितासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्डसमेत थपिएको छ। यो विधा थपिएसँगै अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्