साढे ३३ किलो सुन प्रकरण, ६३ जनाविरुद्ध मुद्दा दर्ता



सरोज यादव, विराटनगर
केही महिनादेखि देशमै चर्चामा रहेको सुन प्रकरणमा ७ जना प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध बुधबार जिल्ला अदालतको कार्यालय मोरङमा मुद्दा दर्ता भएको छ। मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लाई बनाएर पूर्वडीआईजी, बहालवाला एसएसपी, एसपी र डीएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुन अवैध चोरी निकासी पैठारीको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले १ सय ६३ पेजको अभियोगपत्र बनाएको छ। मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपियाँ ९० पैसाको बिगो दाबी गरिएको छ।

सरकारी वकिल पुण्यप्रसाद पाठकका अनुसार २९ जनालाई अदालतमा उपस्थित गराइएको छ भने अन्यलाई फरारको सूचीमा राखिएको छ। जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालका अनुसार सरकारले ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा’ नाम दिएर मुद्दा दर्ता गरेको हो। जिल्ला अदालत मोरङमा दिउँसो २९ जनालाई उपस्थित गराइएको थियो।

बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध मुद्दा दर्ता भएको छ। बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीलाई बुधबार नै पक्राउ पुर्जी थमाई प्रहरीले अन्य आरोपितसँगै अदालतमा उपस्थित गराएको हो।

त्यसै गरी प्रहरी नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाड्डे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरू महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गरेको छ।

मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई सनम हत्याका प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ। सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ भने अझै फरार छन्। उनी भारतमा लुकेर बसेको हुन सक्ने आशंका गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती नेतृत्वको समूहले उर्लाबारीका सनम शाक्यलाई करेन्ट लगाएर फागुन १८ गते हत्या गरेको थियो।

शवलाई गायब बनाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर–३ बाट फागुन १९ गते स्कारपियो गाडीमा शाक्यको शव फेला पारेको थियो। यसैबीच महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले अदालत परिसरमा सञ्चारकर्मीमाथि दुव्र्यवहार गरेका छन्। जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले सञ्चारकर्मीलाई हातपात गरेका हुन्। अभियुक्तहरूको तस्वीर लिन खोज्दा लोहनी पत्रकारमाथि नै आक्रमणमा उत्रिएका थिए।

३८ जनाको सम्पत्ति रोक्का
सुनकाण्डमा शाक्यको हत्यापश्चात घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठन भएको टोलीले पूर्वी नेपाल आएपछि ३८ जनाको सम्पत्ति रोक्का गर्न निर्देशन दिएको थियो। लगत्तै प्रहरीले चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोबार रोक्का गर्न अदालतसँग अनुमति मागेको थियोे। अदालतले सोही दिन नै बैंक खाता, जग्गालगायत सबै सम्पत्ति रोक्का गर्न अनुमति दिएको थियो।

अदालतले धरानका ‘चाचाजी’ भन्ने महावीर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनको सम्पूर्ण कारोबार रोक्न अनुमति दिएको छ।

त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे तथा सनमको हत्या आंशकामा खोजी सूचीमा रहेका चूडामणि उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुलीको सम्पूर्ण कारोबार रोक्न अनुमति दिएको छ।

त्यसै गरी रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोबार रोक्न अनुमति दिएको छ। उनीहरू सबै धरान, इटहरी, विराटनगर र झापा निवासी हुन्।

प्रतिक्रिया दिनुहोस्